मुस्ताङमा हिउँ पहिरो : घाइतेहरू उपचारपछि घर फर्किए, हिमपहिरोमा १२० चौरी बेपत्ता

मुस्ताङ, २९ कार्तिक ।  मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन्।

कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन्।

हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले बताए।

‘भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचार गरेर घर फर्कनु भएको छ’, उनले भने, ‘भीम शेरचन र सकेन्द्र गौचनका ६५/६५ वटा याक चौँरीमध्ये १०/१२ वटा मात्र भेटिएका छन्।’

हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन्।

१३० याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०/१२ मात्र देखिएको र बेपत्ता चौंरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।

हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ। वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ। हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो।

बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो। नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ। घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ।
जङ्गलमा चर्न गएका गाई, भैँसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताए। उवा र फापरबालीमा क्षति पुगेको छ।

सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरिक्षण गरेका थिए।

क्तिषको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताए। आइतबार ठूलो आवाजसहित हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो।

हिम पहिरोको धक्बा नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी–जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमरसिङ माध्यमिक विद्यालयका प्रअ खेम गुरुङले बताए।

हिउँदयाममा हिउँ जम्नुपर्नेमा बेमौसममा हिमपहिरो गएको प्रतिनिधिसभा सदस्य तुलाचनले बताए। तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको उनको भनाइ छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति