साताको शेयर बजार : १६ अर्बको कारोबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो । साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो । बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ । एउटा संस्थाबाट रु चार करोड र बढीमा रु १२ करोडसम्म मात्रै सेयर धितो कर्जा लिन पाउने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिका कारण पनि बजारले गति समात्न नसकेको विश्लेषण भइरहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल २३० कम्पनीको शेयर कारोबार भयो । पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनसम्म १३९.३५ अङ्कले नेप्से परिसूचक ओरालो लागेको देखिन्छ । कूल दुई करोड ८६ लाख ४०९ कित्ता शेयर रु १६ अर्ब ६ करोड ८० लाख ५१ हजार १९० मूल्यमा खरिद बिक्री भए । दीपावलीको बिदापछि खुलेको पहिलो कारोबार दिन नै नेप्से परिसूचक भने दोहोरो अङ्कले ओरालो लाग्यो । सोमबार नेप्से १९.२० अङ्कले घटेर दुई हजार ८२९.६४ मा आर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा झरेको थियो । त्यस दिन कारोबार रकम पनि खासै बढेको देखिएन । कूल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर रु चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार बराबर रहेको थियो । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लाग्यो ।

त्यस दिन कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु ५२ करोड १० लाख तीन हजार ५९० बराबरको कारोबार भयो । मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ७९.७९ अङ्कले घटेर दुई हजार ७४९.८५ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०२ अङ्कले घटेर ५१२.०२ मा ओर्लियो । त्यस दिन नेप्से परिसूचक उच्च अङ्कले घटे पनि कारोबार रकम औसतमा सीमित रह्यो । कूल २२५ कम्पनीको एक करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर रु छ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयरमा पहिरो गयो । त्यस दिन नबिल बैंक शीर्ष स्थानमा रही रु २९ करोड ८२ लाख ८१ हजार ७५२ कारोबार भयो । मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । साताको अन्तिम दिन बिहीबार पनि नेप्से उच्च अङ्कले घट्यो । त्यस दिन नेप्से ५९.५७ अङ्कले घटेर दुई हजार ६९०.२९ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अङ्कले घटेर ५०२.१९ मा पुग्यो । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा नै सीमित भयो । कूल २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर रु पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार ५४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो । बिहीबार महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रही रु ४७ करोड ४९ लाख ३४ हजार ५२१ बराबरको कारोबार भयो । कारोबारका आधारमा मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board