काठमाडौं, २६ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको चेतानी पछि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
महान्यायाधीवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एशोसिएसनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउ–जाउ गर्ने भित्री ढोका बन्द गरिएको छ । यसअघि कानुन व्यवसायीहरु नेपाल बार तर्फको गेटबाट सर्वोच्च अदालत आउ–जाउ गर्दै आएका थिए ।प्रधानन्यायाधीश सर्वोच्च अदालतभित्र प्रवेश गर्ने गेटमा पनि ताला लगाएको देखिएको छ ।

यो गेट प्रधानन्यायाधीश भित्रिंदा र बाहिरिंदा मात्र खोल्ने गरिन्थ्यो । अरु बेलामा भने बन्द नै हुने गर्दछ ।सेवाग्राही र अन्य व्यक्ति प्रवेश गर्ने सडकतर्फको गेटमा दंगा नियन्त्रण गर्ने उपकरणसहित सुरक्षाकर्मीहरु परिचालित छन् ।भित्री ढोका बन्द भएकाले अब आन्दोलनरत कानुन व्यवसायीहरुले सिंहदरबार पश्चिम गेट–माइतीघर खण्डको सडक प्रयोग गरेर सर्वोच्च अदालतमा धर्ना दिनुपर्ने छ ।
तर सो सडकखण्डमा निषेधाज्ञा जारी गरिएकाले त्यहाँ धर्ना प्रदर्शन लगायतका गतिविधि गर्न पाइँदैन ।प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएपछि बारले आज प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने आन्दोलन घोषणा गरेको थियो ।
प्रतिक्रिया