काठमाडौं, कार्तिक २५ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।
बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधस्वरूप प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो। अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग समेत गरेको छ।विरोध कार्यक्रममा संक्षिप्त बोल्दै अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले मूल्य वृद्धि फिर्ता नलिएमा आन्दोलन जारी राख्ने बताए। उनले १२ घण्टाभित्र मूल्य वृद्धि फिर्ता नगरिएमा सरकारकै बर्हिगमनको निम्ति आन्दोलन गर्ने चेतावनी दिए।
विरोध कार्यक्रममा परमादेशी सरकार राजीनामा दे, नाफा घाटा जान्दैनौं मूल्य वृद्धि मान्दैनौं, जनतामारा सरकार मुर्दावाद मूल्य वृद्धि रातारात, मिलेमतो पाँच दलको, उठिबास जनताकोु, कालोबजारीहरू होसियारलगायत प्लेकार्ड बोकेर नाराहरू लगाएका थिए। नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुनेगरी डिजेल तथा पेट्रोलमा ३ ३ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गरेको थियो।
प्रतिक्रिया