काठमाडौं, २५ कार्तिक । सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष इच्छाराज तामाङ यति बेला प्रहरी हिरासतमा छन् । सिभिल सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोज १८ मा उनलाई पक्रिएको हो । तामाङ उक्त सहकारीका सल्लाहकार एवं पूर्वअध्यक्ष हुन् ।
उनी आबद्ध सहकारीले २ हजारभन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तामाङलाई पक्राउ गरेको हो । सहकारीले दुई वर्ष (२०७६ वैशाख) देखि बचतकर्ताको रकम फिर्ता नगरेको सहकारी पीडित संघर्ष समितिका संयोजक उज्ज्वल सत्यालले बताए । यता तामाङले श्रीमतीको नाममा घर–जग्गा राखेको पाइएको छ। सिभिल सहकारी ठगी प्रकरणमा हाल केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका तामाङले श्रीमती सिर्जना शाक्यका नाममा जग्गा राखेको पाइएको हो। तामाङको सम्पत्ति र सिभिल सहकारी ठगीबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ भने केन्द्रीय अनुसन्धान ब्युरोले संगठित अपराधमा तामाङसहित १२ जनामाथि अनुसन्धान गरिरहेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार उनकी श्रीमती शाक्यका नाममा कीर्तिपुरमा १५ रोपनी जग्गा भेटिएको छ। कीर्तिपुर नगरपालिका(१, ट्याङलाफाँटस्थित कम्पाउन्ड घेरेको उक्त जग्गामा घर पनि छ।तामाङलाई प्रहरीले पक्राउ गरेपछि शाक्य फरार छिन्। यसबाहेक इच्छाराजको नाममा सिटिसी मलमा ५० प्रतिशत लगानी देखिएको छ। सिभिल बैंकमा उनको व्यक्तिगत ३५ करोड लगानी पनि देखिएको छ। तामाङको अरू लगानी कम्पनीहरूमार्फत् भएको विभाग स्रोतले जानकारी दियो।‘बेलायतमा छोरीहरू पढाउन केही रकम खर्च गरेको देखिन्छ,’ विभागका एक अधिकारीले भने।
सात वर्षयता उनले ११ करोड रुपैयाँ ती कम्पनीबाट तलब(भत्ता र सेवा सुविधाबापत् लिएका छन्। राष्ट्र बैंकबाट विवरण माग्दा श्रीमती शाक्यको नाममा बैंक मौज्दात खासै नदेखिएको विभागका ती अधिकारीले बताए।केन्द्रीय अनुसन्धान ब्युरोले भने सम्पत्तिको छुट्टाछुट्टै विवरण आउन बाँकी रहेको जानकारी दियो।‘हामीले छुट्टाछुट्टै रूपमा उनी, उनीनिकटका व्यक्तिहरूसँग कहाँ के सम्पत्ति छ भन्ने विवरण मगाएका छौं, त्यो विवरण प्राप्त भइसकेको छैन,’ ब्युरो निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले भने।
तामाङविरूद्ध अनुसन्धान अन्तिम चरणमा छ। उनीविरूद्ध करिब ६ अर्बको बिगो तयार भएको छ।सिभिल सहकारीको निक्षेप ठगी प्रकरणमा उनीसहित १२ जनाविरूद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको ब्युरोले त्यस बराबर बिगो तयार पारेको छ।एक साताभित्र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी ब्युरोको छ। तामाङसहितलाई केन्द्रीय अनुसन्धान ब्युरोले गत असोज १८ गते पक्राउ गरेको थियो।
हालसम्म उनीहरूविरूद्ध १३ सय ७५ जनाले जाहेरी दिएका छन्। ती जाहेरी र सहकारीमाथि अनुसन्धान गर्दा तामाङ तथा उनका परिवारले २१ वटा कम्पनीका नाममा सहकारीको झन्डै ६ अर्ब रुपैयाँ ऋण निकालेको पाइएको छ।
प्रतिक्रिया