काठमाडौँ, २४ कार्तिक । छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् ।
यस पर्वले आपसी एकता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनीहरुले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुभकामना सन्देशमा छठ पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उल्लेख छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले छठ संसारकै मौलिक पर्व भएको उल्लेख गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा सदभाव र एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ-आफ्नै पृष्ठभूमि रहे पनि अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल रहेको बताएका छन् ।
कोरोना त्रास कायमै रहेकाले स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन उनले अपिल पनि गरेका छन् ।
विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा पर्वको रुपमा नेपालभर विस्तार भएको छ ।
सूर्यको उपासना गरी मनाइने छठ पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गरेपछि कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ सम्पन्न हुन्छ ।
प्रतिक्रिया