प्रधानन्यायाधीश जबराले फेरि तोके ६ इजलासमा ७ मुद्दाको पेशी

काठमाडौं, २२ कार्तिक । सर्वोच्च अदालतमा आजका लागि ६ इजलासमा ७ मुद्दाको पेशी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्येक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले जनाएको छ। प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुसँग भएको अघोषित सहमति विपरित इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले तिहार विदा सकिए लगत्तैको पहिलो दिन आफूसहित न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलास तोकेका हुन् ।प्रधानन्यायाधीश जबराको कामकारबाहीमा असन्तुष्टि जनाउँदै सर्वोच्चका न्यायाधीशहरुले इजलासमा सामेल भएका थिएनन् । त्यही कारण केही दिन बन्दी प्रत्यक्षीकरणका निवेदन समेत सुनुवाइ हुन सकेन ।

बन्दी प्रत्यक्षीकरणको मुद्दा सुनुवाइका लागि न्यायाधीशहरुले दुई शर्त राखेका थिए । एउटा, बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको पेशी तोक्न नहुने । अर्को, प्रधानन्यायाधीश जबरा आफू इजलासमा बस्न नहुने ।

इजलास नै सञ्चालन नभएका कारण चौतर्फी दबाब परेका प्रधानन्यायाधीश जबराले गत सोमबार (१५ कात्तिक)देखि बन्दी प्रत्यक्षीकरणको निवेदन मात्रै पेशी तोक्न थाले ।त्यो दिन आफूलाई पनि इजलास तोकेका थिएनन् ।

भोलिपल्ट १६ गते उनले बन्दी प्रत्यक्षीकरण बाहेक बैंकिङ कसुरका निवेदन समेत पेशीमा राख्न थालेपछि कुनैपनि न्यायाधीश इजलासमा गएर सुनुवाई गरेनन् । फेरि एक कदम पछाडि हटेका प्रधानन्यायाधीश जबराले १७ गते बन्दी प्रत्यक्षीकरणका निवेदन मात्रै पेशी तोकेका हुन् ।‘दबाबमा परेपछि एक कदम पछाडि हड्ने, अनि स्थिति सहज नहुदै आफूले पेल्ने उहाँको स्वभाव हो ।

यत्रो आन्दोलन हुँदा र दबाबमा पर्दा समेत उहाँले आफ्नो स्वभाव त्याग्नु भएको छैन’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘आफूलाई इजलास नतोकेमा मात्रैसुनुवाई गर्ने सहमति भएकोमा त्यसको उल्लंघन हुने गरी कसरी आफूलाई इजलास तोक्न मिल्छ ?’ती न्यायाधीशका अनुसार सोमबार कुनैपनि इजलासमा गएर न्यायाधीशहरुले सुनुवाई गर्ने सम्भावना छैन । तैपनि एकपटक सबैजनासँग छलफल गरेर निष्कर्षमा पुग्ने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति