काठमाडौँ, १८ कार्तिक । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तत्काल पार्टीले कारबाही गर्ने बताएका छन् । पार्टीको जति ठूलो पदमा रहेको भए पनि त्यस्ता मन्त्रीलाई कारबाही गर्ने जनाए । भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा प्रचण्डले भने, हाम्रा मन्त्रीहरूलाई जनताको पक्षमा काम नगरे पार्टीमा जस्तोसुकै ठूलो पदमा भए पनि कारबाही गर्ने भनिएको छ । जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट अगाडि बढेका छौं ।माओवादीबाट केन्द्र र प्रदेशका सरकारमा सहभागीलाई त्यस्तो जानकारी गराइएको पनि दाहालको भनाइ थियो । पार्टीबाट समावेशी रूपमा पठाइएका मन्त्रीहरूले काम दीर्घकालीन रूपमा अगाडि बढाएको पनि प्रचण्डको भनाइ थियो ।
तत्कालीन एमाले र माओवादी गठबन्धनको चुनावी घोषणापत्र राम्रो बनाएको तर सरकारको नेतृत्वले त्यसलाई कार्यान्वयनमा नलगिएको दाहालको भनाइ थियो । हिजो घोषणापत्र हामीले नै बनाएको हो । राम्रा-राम्रा कुरा छन् । तर लागू गर्ने बेलामा ठीक उल्टो गरे उनले भने । केन्द्रदेखि प्रदेश सरकारसम्ममा माओवादीले समावेशी समानुपातिक रूपमा मन्त्री बनाएको पनि प्रचण्डको भनाइ थियो । केन्द्रमा सरकार बनाउँदा ६ जना मन्त्री हाम्रो भए ।
जसमा ३ महिला, ३ पुरुष, ५० प्रतिशत महिलालाई सहभागी गराइएको छ । यो सानो काम गरेको होइन । त्यसभित्र सहिदका छोराछोरी, आदिवासी, जनजाति, दलित, खसआर्य पनि देखिनुहुन्छ । समावेशी समानुपातिकताको यति राम्रो नमुना दिनसक्ने अरु कोही पार्टी छैन, उनले भने, प्रदेश २ मा दुई मन्त्री छन् । जसमा एक महिला र एक पुरुष । अन्य प्रदेशमा पनि दलित, आदिवासी, जनजातिबाट समावेशी समानुपातिक मान्यताबाट मन्त्री बनाइएको छ ।
अर्को प्रसंगमा दाहालले प्रतिनिधिसभा विघटन गरेर संविधान असफल पार्ने प्रयास भएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सडकमा प्रदर्शन गर्नुपरेको बताए । ७० वर्ष लगाएर लडेर ल्याएको संविधान उल्ट्याउने प्रयास भयो ।
विघटनको अर्थ देशलाई निरंकुशतातर्फ लैजाने थियो । जे जति समावेशी, समानुपातिक अधिकार छ त्यसलाई उल्ट्याउने मौलिक अधिकार उल्ट्याउने र देशलाई कहीं न कहीं निरंकुशतन्त्रतर्फ लैजाने षड्यन्त्र थियो, उनले भने ।पार्टीहरू प्रतिनिधिसभा विघटनविरुद्ध नलडेको भए देश दुर्घटनामा जाने खतरा देखेको दाहालको दाबी थियो ।
हामी नलडेको भए देश दुर्घटनामा जाने र जनता निरंकुशताको जाँतोमा पिल्सिने देखियो । हामीले लड्नुको विकल्प छैन भन्यौं र जनतामासामु गयौं, दाहालले भने, संविधानको पक्षमा हुने, समानवेशी समानुपातिकताको पक्षमा, लोकतन्त्र, राष्ट्रिय स्वाधिनताको पक्षमा हुने पार्टीहरू एक ठाउँमा ल्यायौं र नयाँ सरकार बनायौं ।
प्रतिक्रिया