नेपाल प्रहरीको केनाईन महाशाखामा यसरी गरियो कुकुर पूजा(फोटोफिचर)

काठमाडौं, १७ कार्तिक । यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । कात्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने बिहीबार बिहान मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

नरक स्नान गरेमा नरकको दुःख भोग्नु नपर्ने शास्त्रीय मान्यता रहेको छ । यसैवीच आज प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजमा बुधबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ । कार्यक्रममा महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा। देउती गुरूङले महाशाखामा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरिन् ।

साथै उनले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘जम्बो’, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रिया’, रनिङतर्फ ‘कालु’लाई पुरस्कार प्रदान गरिन् । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत उनले पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारीहरु र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार, रिमोट कन्ट्रोल कला र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ ।


प्रहरीसँग ७ प्रजातिका कुकुर

यसपालि ‘बेस्ट डग अफ द एयर’ को अवार्ड पाउने जम्बो नेपालमै जन्मिएको कुकुर हो । स्वदेशमै खरिद गरेर प्रहरी जवान जगत विष्टले ह्याण्लिङ गरेर जम्बोलाई अपराध अनुसन्धानमा प्रयोग गर्न योग्य बनाएका थिए ।

नेपालका ब्रिडिङ हाउसमा गएर खेलाउँदा र खान दिँदा असाधारण देखिएका कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा प्रयोग गर्न मिल्ने गरी अब्बल बनाउने गरिएको डा. सत्याल बताउँछन् ।

‘जम्बोलाई २०७६ सालमा ७८ दिन बेसिक तालिम दिएर तयार गरिएको थियो, थप तालिमचाहिँ कर्णाली प्रदेशमै पठाएर दिइएको थियो’, उनले भने, ‘प्रदेशमा रहेको भुन्टी नामक कुकुर बुढो भएपछि उसको रिप्लेसमेन्टका रुपमा जम्बोलाई काठमाडौंबाट पठाइएको थियो ।’

जंगे अहिले दुई वर्षको भएको बताउँदै उनी भन्छन्, ‘सामान्यतया जर्मन सेफर्ड डगले ८ वर्षसम्म काम गर्छ, त्यसपछि चाहिँ कार्यसम्पादन स्तर घट्दै जान्छ ।’ कार्यालय प्रमुख डा.गुरुङका अनुसार नेपाल प्रहरीसँग देशभर ८७ वटा तालिम प्राप्त कुकुर छन् । जर्मन सेफर्ड जातको ३६, ल्याब्राडोर २१, बिगल ५, बेल्जियन सेफर्ड १०, क्रोकर स्पाइनियल १, डच सेफर्ड १ र गोल्डेन रिट्रिभर १३ वटा छन् ।

तीमध्ये १४ वटा कुकुर अपराध अनुसन्धान, ३६ वटा हातहतियार तथा विष्फोटक पदार्थको खोजी एवं पहिचान, २६ वटा लागूऔषध खोजी र ८ वटा खोजी तथा उद्दारमा प्रयोग हुने गरेका छन् । थप ३ वटा कुकुरचाहिँ तालिम लिइरहेका छन् ।

‘यहाँ ल्याइने डगहरुलाई उनीहरूको जातको आधारमा पनि बेग्लाबेग्लै तालिम दिने गरिन्छ’ डा। गुरुङ भन्छिन्, ‘जस्तैः ल्याब्रोडर जातका कुकुरलाई हातहतियार तथा विष्फोटक पदार्थको पहिचान तथा खोजीको मात्रै तालिम दिइन्छ । र, त्यही अनुसार तालिम दिइन्छ ।’

जर्मन सेफर्डको हकमा भने हरेक विधाको तालिम दिन सकिने उनी बताउँछिन् । अधिकारीहरू यो जातको कुकुरलाई ‘अल राउण्डर’ डग पनि भन्छन् । हाल देशभर प्रहरीको ११ वटा केनाइन शाखाहरू छन् । हरेक प्रदेशसहित काठमाडौंमा केनाइन महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर र जनकपुर विमानस्थल पनि कुकुर राखिएका छन् ।

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति