मोरङ, १६ कार्तिक । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई सरकारले जिल्ला कारागार मोरङ सरुवा गरेर ल्याएपछि कैदीबन्दी आन्दोलित बनेका छन् । काठमाडौंस्थित डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी गिरीलाई मंगलबार बिहान विराटनगर कारागारमा ल्याइएको हो ।
यसअघि मोरङ कारागारमा चौकिदारसमेत रहेका गिरीले कैदीबन्दीलाई कुटपिट गरी यातना दिएको घटना बाहिरिएपछि गिरीलाई साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्लीबजार कारागार स्थानान्तरण गरेको थियो । गिरीले पुन: दु:ख दिने डरले कैदीबन्दी आन्दोलनमा उत्रेको बताएका छन् ।तर ९७२ कैदीबन्दी भएको मोरङ कारागारभित्र चौकिदार र नाइकेले गर्दै आएको आम्दानी र त्यसमा कारागार प्रशासनले पाउने हिस्सा नै आनेलनको प्रमुख कारण भएको एक कैदीले बताए ।
अहिलेका चौकिदार किरण गुरुङले कारागारभित्र गरेको आमदानी कारागार प्रशासनलाई पनि बाँड्ने गरेको तर गिरी चौकिदार हुँदा आम्दानी एक्लै खाने गरेकोले कारागार प्रशासनको उक्साहटमा आन्दोलन भइरहेको कैदीबन्दीको भनाई छ । कांग्रेस निकट रहेका गिरीलाई गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मोरङ कारागार ल्याइएको बताइएको छ ।
मोरङ कारागारका जेलर रामप्रसाद पोखरेलले मंगलबार बिहान ५ बजे काठमाडौंबाट गिरीलाई मोरङ कारागार ल्याएदेखि कैदीबन्दी आन्दोलित भएको बताए ।
उनले अहिले गिरीलाई कारागारको प्रांगणमा सुरक्षा घेराभित्र राखिएको बताए ।गिरीलाई कारागारभित्र पठाउने वातावरण नभएकोले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र कारागार विभागलाई समेत जानकारी गराएको पोखरलेले बताए । गिरीलाई ल्याएदेखि मोरङ कारागारको सुरक्षा व्यवस्था कडा बनाइएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले कारागारको समस्या समाधानका लागि पहल भइरहेको बताए ।
प्रतिक्रिया