बाँके, १५ कात्तिक । भारत हुँदै अफगानी नागरिक नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गरी नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कता अपनाइएको छ । अफगानीहरुले पनि भारतीय आधार कार्ड देखाएर नेपाल प्रवेश गर्न सक्ने खतरा रहेकाले आधार कार्डलाई मात्र प्रमाण मानेर नेपाल प्रवेश गर्न नदिन प्रशासनद्धारा निर्देशन दिइएको छ ।
नेपाल–भारत सीमा नाका खुला भएकाले मुख्य नाकासँगै सहायक नाका र ग्रामीण ठाउँमा पनि निगरानी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको निर्देशनपछि नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कताका साथ निगरानी गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।
विष्टले भारतबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीमा समेत निगरानी बढाइएको र टाढाबाट आएकालाई विशेष ख्याल गर्दै नजिकैबाट आएकालाई पनि सोधपुछ गरी कागजातका आधारमा नेपाल प्रवेश गर्न दिइएको बताए ।
प्रतिक्रिया