काठमाडौं, १५ । कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही राजीनामा दिने तर्खरमा छन् । उनले राजीनामा पत्र समेत तयार पारेका छन् ।
शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीको पदावधि आज सकिन लागेसँगै मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेका हुन् ।
शाही नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पदावधि आज सकिन लागेको हो ।
प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ । ‘फ्लोर क्रस’ गरेका माधव नेपाल पक्षका तीन जना सांसद्लाई नेकपा (एमाले)ले कारबाही गरी गत वैशाख ४ गते सांसदबाट हटाएको थियो । हाल उनीहरु नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् ।
तीन मन्त्रीको पदावधि सकिनासाथ मुख्यमन्त्रीले समेत राजीनामाको तयारी गरेको स्रोतको भनाइ छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार, राजीनामा दिने तयारीमा रहेपनि ‘माथि’को निर्देशन आएको छैन । ती स्रोतले भन्यो, ‘पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग के गर्ने भन्ने विषयमा मुख्यमन्त्रीको छलफल भएको छ । तर, अहिलेसम्म कुनै निर्देशन नआएकाले राजीनामा दिने विषय टुंगो लागिसकेको छैन ।’
अपरान्ह ५ बजे मन्त्रिपरिषद बैठक राखेर मुख्यमन्त्री शाहीले राजीनामाका लागि तयारी भने गरिसकेको स्रोतको भनाइ छ ।
प्रतिक्रिया