काठमाडौं, १५ कार्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि आज मत विभाजन हुदै छ।आज दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतको मत विभाजन हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेका थिए। तर, मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो। त्यतिबेला कांग्रेस र एमालेले बैठक सार्न लिखित निवेदन दिएका थिए।
प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सोमबारको बैठकको विषयमा कार्यसूची तय भइसकेकाले कार्यव्यवस्था नबस्ने बरु सदनको कारबाही सुरु हुने बताएका छन्।
यसैबीच विपक्षी गठबन्धले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। सोमबार बस्ने प्रदेशसभा बैठक अघि आइतबार विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको हो।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता सहभागी थिए।
९३ सदस्यीय प्रदेश सभामा अहिले ९२ सदस्य छन्। नेकपा (माओवादी केन्द्र) त्यागेर एमाले प्रवेश गरेका टंक आङ्बो कारबाहीमा परेका थिए।
सभामुख प्रदीपकुमार भण्डारी बाहेक एमालेका ४१ र विपक्षी गठबन्धनका ५० सदस्य छन्। कांग्रेसका २१, माओवादीका १५, नेकपा ९एकीकृत समाजवादी०का १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना सांसद छन्। प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
शेरधन राईले राजीनामा दिएपछि आचार्य १० भदौमा मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएर १० सांसद एकीकृत समाजवादीतिर लागेपछि उनी अल्पमतमा परेका हुन्।
प्रतिक्रिया