काठमाडौं, १२ कार्तिक । नेपाल बार एशोसियशनमा वकिलहरूबीच हानाहान भएको छ । अधिवक्ता विराट न्यौपानेले भूमिनन्द चुडाललाई कुटपिट गरेका हुन् । चुडालले कानूनी प्रक्रियामा जाने बताएका छन् । उनका अनुसार मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले कुटपिट गरेका हुन् । ‘मैले इजलास नचल्दा सेवाग्राहीलाई सास्ती भयो भनेर अन्तर्वार्ता दिइरहेको थिएँ,’ उनले भने । तर शुक्रबार एक–अर्कामाथि लात्ती र मुक्का बर्साउँदै दुई अधिवक्ताले बारको माहोल तताए । हात हालाहालमा उत्रिएका थिए अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडाल । उनीहरू दुई जनाबीच हात हालाहाल भएको यो पहिलो पटक भने होइन ।
२०६२ सालमै न्यौपानेले चुडाललाई काठमाडौं जिल्ला अदालत परिसरमा चड्कन लगाएका थिए । कारण थियो( चुडालले माओवादीको मुद्दामा बहस गर्नु । ‘त्यतिखेरै उसले मलाई हातपात गरेको थियो,’ चुडालले भने । २०६२ मा न्यौपानेले तँ माओवादीको मुद्दा हेर्ने ? भन्दै चुडाललाई थप्पड हानेका थिए । र, आज बार एशोसिएसन परिसरमा भएको भिडन्त पनि २०६२ को त्यही प्रसंगबाट सुरु भएको हो । आज नेपाल बार एशोसिएसनको भुइँ तलामा रहेको सर्वोच्च बार एशोसिएसनको हलमा चुडाल बसिरहेका थिए । चुडाल बसेको ठाउँमा पुगेका न्यौपानेले उनलाई हप्काउँदै भने, ‘माओवादीको मुद्दा हेर्ने तैँ होइनस् ?’
एक त पुरानो तुस अर्को बार परिसरभित्रै न्यौपानेको हप्कीदप्की । चुडालले खप्न सकेनन् । चुडालले जवाफ फर्काउन थालेपछि हलभित्रै दुई वकिलहरूको विवाद उग्र बन्न थाल्यो ।न्यौपाने र चुडालको विवाद उग्र बन्दै गएपछि त्यहाँ रहेका अन्य अधिवक्ताहरूले सम्झाइबुझाइ गरेर उनीहरूलाई थामथुम पारे ।
भित्र विवाद भएपछि बाहिर निस्किएका चुडालले टेलिभिजनमा अन्तर्वार्ता दिन सुरु गरे । अन्तर्वार्तामा चुडालले एक हप्तादेखि अवरुद्ध न्याय सम्पादनको काम सुरु हुनुपर्ने कुरा राखे ।चुडालका अनुसार उनले बिहान नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलालामणि पौडेललाई भेटेर आन्दोलन जारी राखेरै भए पनि न्यायालय खुलाउनुपर्ने धारणा राखेका थिए ।तर, चुडालले टेलिभिजनलाई दिएको अन्तर्वार्ता सुनिरहेका न्यौपानेलाई उनको कुरा मन परेन । न्यौपानेले चुडाललाई छेउमा बोलाएर आक्रमण गरिहाले ।त्यसपछि सुरु भयो लात्ती र मुक्का हानाहान । कुटाकुटमा चुडालको कालो कोट च्यातियो ।
बार परिसरमै दुई अधिवक्ताबीच कुटाकुट भएपछि प्रहरी भ्यान लिएरै बार परिसरमा प्रवेश गर्यो । तर, त्यहाँ उपस्थित अधिवक्ताहरूले बारको कुरा बारभित्रै मिलाउने भन्दै प्रहरी फर्काए ।अनि न्यौपानले माफी मागे । कोभिडले गर्दा न्याय सम्पादन प्रभावित बनेको र अहिले न्यायालयकै विवादका कारण बहस रोकिँदा आर्थिक अवस्था नाजुक हुँदै गएको भनेर चिन्तित भएका चुडालले न्याय सम्पादन जारी राख्नुपर्ने माग राखेका थिए ।
झापाका चुडाल २०५४ सालदेखि सर्वोच्च अदालतमा बहस गरिरहेका छन् । चुडाल ३५ वर्षदेखि वकालत पेशामा छन् । यता न्यौपाने भने सर्वोच्च अदालतका पूर्वन्यायाधीश नगेन्द्र बहादुर न्यौपानेका छोरा हुन् । चुडाललाई ‘दलाल’भन्दै गाली गलौज गरिरहेका न्यौपाने कानुन व्यवसायीमाझ आफ्नो उग्र व्यवहारका कारण परिचित छन् । एक वरिष्ठ अधिवक्ताका अनुसार ‘न्यौपाने हर कोहीसँग तँतँ मम गरेर बोल्छन् । थोरै चित्त बुझेन कि हातपात गरिहाल्छन् ।’ न्यौपाने र चुडाल दुवै नेपाली कांग्रेससँग नजिक मानिने कानुन व्यवसायीको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसनमा आबद्ध छन् । न्यौपाने काठमाडौं जिल्ला अदालत बारका हुन भने चुडाल सर्वोच्च अदालत बारका अधिवक्ता हुन् । उनीहरू दुवै जनालाई उदण्ड व्यवहार देखाएको भन्दै यसअघि बार काउन्सिलले कारबाही गरेको थियो ।
प्रतिक्रिया