काठमाडौँ, ११ कार्तिक । अर्थ मन्त्रायलयले नेपाल धितो बोर्ड (सेबोन)को अध्यक्ष र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया सुरु भएको छ । सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङगाना बर्खास्तपछि उक्त पद खाली रहेको छ । यस्तै, नेप्सेका पूर्वकार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएपछि उक्त पद पनि खाली छ ।
ढुङ्गाना र साउद दुबै जना सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएका थिए । अहिले खाली ती दुबै पदमा नियुक्तिका लागि अर्थ मन्त्रालयले छुट्टाछुट्ट्रै समिति गठन गरेको छ । सेबोन अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललको संयोजकत्वमा एक समिति गठन भएको छ ।
समितिका सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र प्रा.डा. नारायण पौडेल छन् । सेबोन अध्यक्षका लागि सिफारिस समितिको संयोजकमा अर्थ मन्त्रालय हेर्ने योजना आयोगका सदस्य रहने व्यवस्था छ । अहिले उपाध्यक्ष पौडेलले नै अर्थमन्त्रालय हेरिरहेकाले उनलाई सिफारिस समितिको संयोजक बनाइएको हो । समितिले अध्यक्ष छनौटका लागि आवेदन आह्वान गरिसकेको छ । १५ दिनको समय दिएर सूचना निकालिएको छ । जसअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले यही कात्तिक २५ भित्रै आवेदन दिइसक्नु पर्नेछ । धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।
छनोट समितिले तीन जनाको नाम सिफारिस गर्ने र सोही नाममध्येबाट एक जनालाई मन्त्रीपरिषदले अध्यक्षमा नियुक्ति गर्ने व्यवस्था ऐनमा छ । यस्तै, अर्थमन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोटका लागि सिफारिस समिति गठन भएको छ । समितिमा अर्थ मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्व अध्यक्ष जीवनाथ धिताल सदस्य छन् । नेप्सेको सीईओका लागि शुक्रबार आवेदन आह्वान गर्ने तयारी भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
प्रतिक्रिया