ओली गफमा रमाउने व्यक्ति, हामी कामकाजी : अध्यक्ष नेपाल

काठमाडौं, ११ कार्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘गफाडी’को संज्ञा दिएका छन्।

एकीकृत समाजवादी कञ्चनपुरको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली गफमा रमाउने व्यक्ति भएको टिप्पणी गरे।
‘केपी ओली गफाडी हुन्। हामी कामकाजी। हामीबीच यहीँ भिन्नता छ। ओली गफमा रमाउने, हामी काममा,’ उनले भने, ‘ओलीले घरघरमा ग्यास ल्याउने, पानी जहाज चलाउने नक्कली कुरा गरे।’

केपी ओली दक्षिणपन्थी शक्तिहरूसँग साँठगाँठमा गरिरहेको उनको आरोप छ। ‘ओली दक्षिणपन्थी दिशामा अगाडि बढेका छन्। दरबारीयासँग उनको सम्बन्ध छ’ नेपालले भने, ‘ओली राप्रपा र महन्थ ठाकुरसँग मिल्छन्। हामी जहिल्यै पनि प्रतिगमनका विरुद्ध छौँ।’ओलीले विदेशी शक्ति सामु घुँडा टेकेको उनको आरोप छ। अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी सबैभन्दा बलियो भएर कीर्तिमान राखेको बताए। बागमती प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनेको बताउँदै नेता नेपालले प्रदेश नम्बर १ मा पनि छिट्टै सरकार बन्ने दाबी गरे।

‘अष्टलक्ष्मी हामीसँग रहनु भएन। त्यसैले हामीले राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनायौँ। हामीसँग नभएको मान्छेको माया किन राखिराख्नु ?’ उनले भने, ‘अहिले पनि आएर पार्टीमा काम गर्नुस्। हामी कसैसँग बदलाको भावना राख्दैनौँ।’ सुदूरपश्चिम प्रदेशको नेतृत्वको लागि छलफल भइरहेको उनको भनाई थियो। ‘हामी पहिलो दल हो। ढिलोचाँडो नेतृत्वमा आउँछौँ। त्यसका लागि छलफल भइरहेको छ’ उनले कार्यकर्तालाई भने, ‘यो हक पनि हो।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति