फेरि सार्‍यो काँग्रेसको महाधिवेशन कार्यतालिका, नयाँ मिति मंसिर २७ देखि २९


काठमाडौं, १० कार्तिक । नेपाली काँग्रेस १४ महाधिवेशनको कार्यतालिका फेरि सारेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि २९ गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो । काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ ।

उनका अनुसार कात्तिक ३० गते पालिका अधिवेशन हुने छ । यसअघि नै काँग्रेसले ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ ।सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन । यीमध्ये रसुवा बारा र रौतहटको क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन ।पोखरेलका अनुसार मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ ।

मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलले जानकारी दिए । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ । मंगलबार पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले बुधबार नयाँ कार्यतालिका ल्याएको हो । प्रधानमन्त्री देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको छ ।

यसअघि काँग्रेसले तीन पटक महाधिवेशन सारेको थियो । ​काँग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन सारियो । तर, क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भयो । क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि मंसिर ९ देखि १३ सम्म सारिएको थियो । उक्त मितिमा पनि महाधिवेशन हुन नसकेपछि काँग्रेसले मंसिर २७ देखि २९ गतेका लागि सारेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति