काठमाडौँ, ८ कार्तिक। सरकारले प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेट १५ प्रतिशतले बढाएर उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुवानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयको सचिवको संयोजकत्वमा, कृषि तथा पशुपंक्षी मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिव रहेको कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।
असोज १ गतेदेखि ३ दिनसम्म परेको बेमौसमी वर्षाका कारण प्रदेश १, लुम्बिनी प्रदेश लगायतका क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको थियो ।
यस्तै, बैठकले नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए ।
त्यसैगरी, सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा। रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ ।
कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
प्रतिक्रिया