एमालेले विकासमा राजनीति गरेको गठबन्धनको आरोप


खोटाङ, ८ कार्तिक । सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरूले खोटाङमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विकास निर्माण तथा राहत वितरणमा राजनीति गरेको आरोप लगाएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिले विकास निर्माण र राहत वितरणको सवाललाई अन्य पार्टीका कार्यकर्ता तथा समर्थकलाई प्रलोभनमा पारी आफ्नो पार्टीमा तान्ने हतियार बनाएको सत्ता गठबन्धनमा आवद्ध नेताहरूको दाबी छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) र नेकपा मालेले ७ कात्तिकमा संयुक्त विज्ञाप्ति जारी गर्दै पछिल्लो वर्षाले निम्त्याएको विपद्को बेला मानवीय सहयोग गर्नुपर्नेमा राजनीतिकरण गर्दै पार्टीमा तान्ने र प्रलोभन देखाउने गतिविधि देखाइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

स्थानीय तहमा विकास निर्माणका सन्दर्भमा विधि र नीतिलाई पछ्याउँदै जनप्रतिनिधिले साझा भूमिका निर्वाह गर्नुपर्नेमा स्थानीय सत्ताको दुरुपयोग गर्दै अन्य पार्टीका कार्यकर्ता र समर्थकलाई विकास योजना दिन्छु भन्दै प्रलोभनमा पारी अराजनीतिक काम गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो एक हप्ता लामो समय परेको वर्षातले खोटाङलगायत देशभरी मानवीय क्षतिका साथै कृषि बालीमा ठूलो क्षति भएको उल्लेख गर्दै सत्ता गठबन्धनमा आवद्ध तथा प्रतिगमनविरुद्ध उभिएका राजनीतिक दलले पीडितलाई राहत प्रदान गर्न प्रदेश तथा संघीय सरकारसँग माग गरेको छ । विज्ञप्तिमा कांग्रेसका सुमनबाबु आचार्य, माओवादी केन्द्रका पृथ्वी किराती, जनता समाजवादीका टंक थापा, नेकपा ९एकीकृत समाजवादी०का बबी चाम्लिङ र नेकपा मालेका झुलेन्द्र बिकले हस्ताक्षर गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति