काठमाडौं, ७ कार्तिक। नेपाली कांग्रेसले आज आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन दिएको छ ।
आफ्ना केही सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिने सूचना पाएपछि नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयमा लिखित निवेदन दिएको हो ।मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्दैछ ।
यसबीचमा कांग्रेसका केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको हो ।यद्यपि कांग्रेसको निवेदनमा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को भ्रमणमा आउन लागेकाले आजको बैठक सार्न माग गरिएको छ ।९२ सदस्यीय प्रदेशसभामा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । उनलाई वहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । तर विभाजनपछि एमालेका ४१ जनामात्र सांसद छन् ।राप्रपा र अन्य सानादलसहित कांग्रेसका केही सांसदको समेत समर्थन लिएर आचार्यले सत्ता टिकाउन प्रयास गरेको सूचना विपक्षी गठबन्धनले पाएको छ ।विपक्षी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार छन् । सभामुख प्रदीप भण्डारीले प्रदेशसभा बैठक रोक्ने वा नरोक्ने निर्णय गर्नुअघि दलहरूसँग परमार्श गर्ने भएका छन् ।
प्रतिक्रिया