प्रधानन्यायाधीश जबरालाई बारका पदाधिकारीले भेट्दै

काठमाडौँ , ७ कार्तिक । नेपाल बार एसोसिएसनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर छलफल गर्दै छन्। बारको कात्तिक ५ गते बसेको कार्यसमिति बैठकको निर्णयबमोजिम भेटघाट हुन लागेको हो ।

पछिल्लोसमय जबरा कार्यकारीसँग संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्‌मा भागबन्डा लिएको, न्यायालय सुधार अभियानमा अवरोध सिर्जना गरेको, आफ्ना स्वार्थ बाझिने मुद्दाको सुनुवाइबाट अलग हुन अस्वीकार गरेको तथा तिनको सुनुवाइ अनिश्चित बनाएको जस्ता विवादास्पद क्रियाकलापका कारण आलोचना भोगिरहेका छन् । बार बैठकले यिनै विषयमा जबरालाई भेटेर छलफल गर्ने निर्णय गरेको थियो ।सोही निर्णयबमोजिम आइबार बिहान ११ बजे आफूहरूले प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्न लागेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्।प्रधानन्यायाधीश जबरा निरन्तर विवादमा तानिँदै गएपछि पूर्वन्यायाधीश फोरमले उनलाई निकास दिन आग्रह गरेको छ ।

उनले त्यसरी निकास नदिए प्रतिनिधिसभालाई उनीमाथि छानबिन गरी आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न पनि स्मरण गराएको छ। पूर्वन्यायाधीशहरूसमेत प्रधानन्यायाधीश जबराविरुद्ध मुखरित भए पनि बारले केही पहल नलिएको भन्दै सार्वजनिक आलोचना भइरहेको छ।कात्तिक ५ मा बसेको बार बैठकले गोलाप्रथाद्वारा पेसी सूची प्रकाशन गर्ने प्रणाली लागू गर्न समयसीमासहितको प्रतिबद्धताका लागि प्रधानन्यायाधीशलाई १५ दिनको समय दिएको थियो। बारले प्रधानन्यायाधीशसँग आजको भेटपछि थप धारणा सार्वजनिक गर्ने बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति