नेपालले आफ्नो समूह लिएर बाहिरिएपछि पार्टी एकढिक्का : अध्यक्ष ओली

काठमाडौँ, ६ कार्तिक । माधवकुमार नेपालले आफ्नो समूह लिएर बाहिरिएपछि पार्टी एकढिक्का रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

देशभरका वडा कमिटीको अधिवेशन उद्घाटन गर्दै ओलीले अहिले पार्टीमा कुनै समस्या नरहेको दाबी गरेका हुन् । थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट वडा अधिवेशनहरूलाई शनिबार सम्बोधन गर्दै ओलीले विगत डेढ वर्षयता पार्टीमा समस्या देखिएको तर अहिले त्यस्तो समस्या बाँकी नरहेको बताएका हुन् ।

पार्टीमा एउटा सकरात्मक कुरा के देखिएको छ भने अब पार्टी एकढिक्का छ । पार्टीको बदनाम गर्ने, बेइज्जत गर्ने र बढाइचढाइ पार्टीभित्रका समस्या देखाउने कुरा रहेन, ओलीले भने, प्रचण्डले पार्टी छोडेर बहिर्गमन गरेपछि र माधव गुटले फरक ढंगले प्रस्तुत भइसकेपछि पार्टी नयाँ ढंगले अगाडि बढेको छ ।पार्टीलाई यसबीचमा सरकारबाट हटाउने खेल पार्टीभित्र र बाहिर साँटगाटमा भएको ओलीको भनाइ थियो । पार्टीभित्र देखिएको विवादले कम्युनिस्ट आन्दोलनको भविष्य खतरामा परेको उनले बताए । एमालेले लोकतन्त्र र संविधानको रक्षा गर्न लागेको उनको भनाइ थियो ।

पार्टीभित्रको विवादले विकासका प्रयासमा व्यवधान पुर्‍याएको पनि उनले बताए । देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भएको पनि उनको भनाइ थियो । केही समययता पार्टीमा अनुशासनहिनता, अराजकता हाबी भएको भन्दै ‌ओलीले विरोधी उत्साहित र कार्यकर्ता निराश भएका बताए ।

उपाध्यक्ष भीम रावलले पार्टीभित्रको विवाद समाधानका लागि गरिएको असार २७ को १० बुँदे कार्यान्वयन नभएको भन्दै स्थायी कमिटीमा फरकमत लेखेको भोलिपल्ट नै अध्यक्ष ओलीले पार्टीभित्र विवाद बाँकी नरहेको दाबी गरेका हुन् । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ ।

चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ । एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति