धनगढी, ५ कात्तिक । बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार रहेको हेलिकोप्टर मौसम खराब भएका कारण फेरि कञ्चनपुरतर्फ गएको छ । धनगढी विमानस्थल स्रोतका अनुसार,शुक्रबार प्रधानमन्त्री देउवासहितको टोली कैलालीको पश्चिम–पूर्वी भेगमा रहेका भजनी, टिकापुर र बर्दियाको राजापुर निरीक्षण गरेर नेपालगन्जमा खाना खाई काठमाडौं आउने तालिका थियो ।
तर, मौसम खराब भएपछि हेलिकोप्टर प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेमबहादुर आलेसहित अन्य नेताहरू लिई १०:२१ मा कञ्चनपुरको भुजेला क्षेत्रतर्फ उडेको छ । शुक्रबार बिहान धनगढीको सैनिक ब्यारेकमा राखिएको भीभीआईपी हेलिकोप्टर चढेर प्रधानमन्त्री देउवासहितको टोली कैलालीको श्रीलंका टापु पुगेको थियो ।
त्यसपछि भजनी, टीकापुर हुँदै बर्दियाको राजापुर क्षेत्र निरीक्षणको कार्यक्रम थियो । तर ती क्षेत्रको मौसम खराब भएका कारण हेलिकप्टर श्रीलंका टापुबाट धनगढी विमानस्थल फर्केको थियो । त्यहाँबाट कञ्चनपुरको भुजेलातर्फ लागेको हो। प्रधानमन्त्री देउवाले बिहीबार सुर्खेतबाट बझाङ, डोटी, डडेल्धुरा हुदै कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रको बाढीप्रभावित क्षेत्र अवलोकन गरेका थिए ।
प्रतिक्रिया