एनआरएनएमा समानान्तर गतिविधिको अभ्यास, संस्थापन पक्ष भेला बिथोल्ने तयारीमा

काठमाडौं, ४ कार्तिक । पछिल्लो समय गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दो विवाद तिव्ररुपमा बढ्दै गएको छ । एनआरएनएको विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय भएसँगै अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले समानान्तर भेला बोलाएको छ ।

आचार्य पक्षले ‘राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला’ नाम दिएर समानान्तर गतिविधि थालेको हो । यही अक्टोबर २४ का दिन तय गरिएको भेला आयोजक एनआरएनएका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) रहेको भनिएको छ । संघभित्र बढ्दो बेथिति र अन्योलतालाई चिर्नका लागि आफूहरुले भेला बोलाएको आचार्य निकट एक एनसीसी अध्यक्षले बताए ।

सो भेलाका लागि एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी संयोजक चयन भएका छन् । उनको संयोजकत्वमा ८ सदस्यीय समिति निर्माण गरिएको छ । उता, बहुमत एनसीसीहरुको सहभागिता रहने दाबी गरिएको भेलालाई रोक्न संस्थापन समूह लागिपरेको छ । अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्माले एनसीसीहरुलाई इमेल गरेर भेलामा सहभागी नहुन निर्देशन जारी गरेका छन् ।

पन्तले आईसीसी सदस्य एनसीसीका अध्यक्षहरूलाई सम्बोधन गरेर पठाएको इमेलमा आफूले सामाजिक सञ्जालमार्फत भेलाबारे जानकारी पाएको र त्यो भेला आधिकारिक नभएकाले उपस्थित नहुन आग्रह गरिएको छ ।अध्यक्ष पन्तले भनेका छन्, ‘ २४ अक्टोबरका लागि एनसीसीहरुले गर्ने भनिएको भेलामा मेरो नाम पनि जोडिएको पाइएको छ, म यस्तो भेलाको आयोजक होइन । त्यस्तो कुनै पनि भेलामा सहभागी नहुन म सबैलाई अनुरोध गर्दछु ।’

यसैगरी महासचिव शर्माले पनि अक्टोबर २४ को भेला वैधानिक नभएको जिकिर गरेका छन् । उनले सामाजिक संस्थामा अशोभनीय गतिविधि भएको भन्दै छुट्टै भेला गर्ने कार्यलाई रोक्न जरुरी भएको बताएका छन् ।

‘अक्टोबर २४ तारिखमा हुने भनिएको एनसीसीको भेलाका बारेमा अध्यक्षले संस्थाको धारणा राखिदिनुभएको छ’, शर्माद्वारा एनसीसीका अध्यक्षहरुलाई प्रेरित गरेको पत्रमा भनिएको छ, ‘अहिलेको समस्या समाधान गर्न अध्यक्ष दिनरात खट्नुभएको छ । यस्ता खालका समानान्तर गतिविधिले समस्यामा थप जटिलता थप्नेछ । कोरोना महामारीमा हामीले हप्तैजसो एनसीसीहरुसँग बैठक आयोजना गरेका थियौँ । आवश्यक पर्यो भने अहिलेको समस्याका सम्बन्धमा पनि एनसीसीको बैठक आईसीसीले गर्छ ।’ महाधिवेशन प्रतिनिधि चयनका विषयमा विवाद चर्किएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा एनआरएनएको कार्यकाल छ महिना थपिएपछि समस्या समाधान गरिनुको साटो थप समानान्तर गतिविधिको अभ्यास संघभित्र हुन थालेको हो । भेलाले संघभित्रको परिस्थितिबारे छलफल गरी स्पष्ट तय गर्ने बताइएको छ । समानान्तर भेलालाई युके, अस्ट्रेलिया, अमेरिका, दक्षिण कोरियालगायतका ठूला एनसीसी समेतको समेत साथ रहेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति