दिल्ली सरकारले वर्षाका कारण पीडित किसानलाई क्षतिपूर्ति स्वरुप प्रति हेक्टर ५० हजार भारु दिने

काठमाडौं, ३ कात्तिक । दिल्ली सरकारले बेमौसमी वर्षाका कारण पीडित बनेका किसानलाई क्षतिपूर्ति स्वरुप प्रति हेक्टर ५० हजार भारु दिने घोषणा गरेको छ ।

बुधबार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बेमौसमी वर्षाका कारण बालीनाली नष्ट भएका किसानलाई प्रति हेक्टर ५० हजार भारु क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

‘बेमौसमी वर्षाले किसानको बालीनाली नष्ट भएको छ तर उहाँहरु दुस्खी हुनु पर्दैन’, पत्रकार सम्मेलनमा बोल्दै केजरीवालले भने, ‘सँधै झै तपाईंको साथमा सरकार छ । आफ्नो बाली गुमाएका किसानलाई क्षतिपूर्ति स्वरुप प्रति हेक्टर ५० हजार प्रदान गर्न भनेको छु ।’

‘केही दिनअघि किसानहरु मलाई भेट्न आउनु भएको थियो । बेमौसमी झरीका कारण उहाँहरुको बालीनालीमा क्षति पुगेको थियो’, केजरीवालले थपे, ‘तर दुस्खी हुनुपर्दैन । विगत ६/७ वर्षमा बालीनाली नष्ट हुँदा हामीले तपाईंलाई सहयोग गर्‍यौं । म भन्न चाहन्छु- तपाईंको यो छोरो तपाईंहरुकै साथमा छ । मैले किसानको मर्का बुझ्न सक्छु ।’

दुई हप्ताभित्र बालानालीमा पुगेको क्षतिपूर्तिबारे सर्वेक्षण गरिने र दुई महिनाभित्र किसानको बैंक खातामा क्षतिपूर्ति रकम पठाइने समेत केजरीवालको भनाइ थियो । क्षतिपूर्ति स्वरुप किसानलाई प्रदान गर्न लागिएको प्रति हेक्टर ५० हजार भारु देशभरमै सबैभन्दा बढी भएको पनि उनले दाबी गरे ।

केही दिनदेखिको बेमौसमी झरीका कारण दिल्लीको ग्रामीण भेगका किसानले ठूलो नोक्सानी ब्यहोरेपछि केजरीवालले क्षतिपूर्ति प्रदान गर्ने बताएका हुन् ।

वर्षाका कारण दिल्लीसहितका भारतीय प्रान्त प्रभावित बन्न पुगेका छन् । वर्षापछिको बाढीपहिरोबाट अति प्रभावित उत्तराखण्डमा ४६ जनाले ज्यान गुमाइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति