धनगढी, १ कात्तिक । दशैंका बेला कैलालीको धनगढीस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ ।
धनगढी उपमहानगरपालिका–४ भगवती टोलका स्थानीय इन्द्रबहादुर सिंहको घरमा चोरी भएपश्चात् उनले दुई लाख ३० हजार रुपैयाँ नगद र करिब २० तोला सुनका गहना चोरी भएको भन्दै कैलाली गाउँमा रहेको प्रहरी चौकीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
छिमेकीलाई घरको रेखदेख गरिदिन आग्रह गर्दै दशैं मनाउन पुर्ख्यौली घर डोटी गएका बेला मूल ढोकामा लगाएको ताला फुटाउँदै गरगहना र नगद चोरी भएको भन्दै तेक्वान्दो संघ कैलालीका सचिव रहेका सिंहले प्रहरीमा निवेदन दिएपछि घटनाका सम्बन्धमा अनुसन्धान गर्दै चोरी भएको भनिएको नगद र गरगहनाको खोजी कार्यमा प्रहरी टोली खटिएका एसपी अधिकारीले जानकारी दिए ।
सिंहकाअनुसार तीन तोला बराबरका छड्के तिलहरी दुई वटा, तीन तोला बराबरकै दुई वटा मंगलसुत्र, तीन तोला बराबरकै दुई वटा हार, दुई तोला बराबरको दुई वटा सिक्री, दुई तोला बराबरका दुई वटा मंगलसुत्र, तीन तोला बराबरका ६ वटा औंठी, ५० ग्राम बराबरको औंठी लगायतका गरगहना चोरी भएको सिंहले बताएका छन् ।
प्रतिक्रिया