भारतीय जलसेनाका उच्च अधिकारीको नेतृत्वमा अन्य देशका सेना सहितको टोली नेपाल आउने

काठमाडौं, ३१ असोज । भारतीय जलसेनाका उच्च अधिकारीको नेतृत्वमा भारतीय तथा अन्य देशका सेना सहितको टोली एक हप्ताको भ्रमणमा नेपाल आउने भएको छ।

भारतको राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) मा सञ्चालित नेशनल डिफेन्स कोर्समा सहभागी प्रशिक्षार्थी र अधिकारीहरुले त्यहाँका वरिष्ठ निर्देशक तथा भारतीय जल सेनाका रियर एडमिरल धीरेन भिगको नेतृत्वमा नेपाल भ्रमण गर्ने भएको हो।

सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार ३९ सदस्यीय टोलीले ३१ असोजदेखि ६ कात्तिकसम्म नेपाल भ्रमण गर्नेछ। भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने पौडेलले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार रक्षा टोलीले जंगी अड्‍डा भद्रकाली, मध्य कमाण्ड हेडक्वाटर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्नेछ। यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरीलगायतका स्थानको भ्रमण तथा नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए।

सेनाले विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागि प्रशिक्षार्थीहरूले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा संचालित कमाण्ड तथा स्टाफ तालिमका प्रशिक्षार्थी पनि मित्रराष्ट्रहरूको भ्रमण गर्ने परम्परा रहेको जनाएको छ।

पौडेलले छिमेकी मित्रराष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास लिएको जानकारी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति