इच्छाराजको ठगी मुद्दामा झन्डै पौने ४ अर्ब बिगो

काठमाडौं, २७ असोज । सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्ध करिब नौ सय जाहेरी दर्ता भएको छ। केन्द्रीय अनुसन्धान ब्युरोमा सोमबार साँझसम्म आठ सय ८३ जना निक्षेपकर्ताले जाहेरी दर्ता गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। जाहेरीमा अहिलेसम्म कुल बिगो रकम ३ अर्ब ७४ करोड २८ लाख रूपैयाँ दाबी गरिएको छ। यो मुद्दामा अझै जाहेरी थपिन सक्ने ब्युरोले जनाएको छ। केही निक्षेपकर्ताले जाहेरी दिन आउँदा कागजपत्रहरू छुटाउनुभएको थियो। उहाँहरू पछि आउनुहुन्छ, महतोले भने, त्यस हिसाबले जाहेरी दिनेको संख्या अझै थपिन सक्छ।

एउटै मुद्दामा यति धेरै जाहेरी दर्ता भएको सम्भवतस् पहिलोपटक हुनुपर्ने उनले बताए। यो सहकारीमा दुई हजारभन्दा बढी निक्षेपकर्ता छन्। प्रहरीले तामाङसहित १२ जनाविरूद्ध ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ। ठगी मुद्दामा प्रहरीसँग २५ दिन म्याद हुन्छ तर २३ दिनभित्रै अनुसन्धान सक्नुपर्छ। छोटो समयमा यति ठूलो ठगी मुद्दा अनुसन्धान गर्नु चुनौतीपूर्ण छ। अनुसन्धान क्रममा अरू मुद्दा पनि आकर्षित हुनसक्छन्,प्रहरी उपरीक्षक महतोले भने।

तामाङले विभिन्न व्यक्तिहरूलाई जग्गा घर दिने भन्दै ठगी गरेको आरोप पनि छ। उनले केहीलाई घरजग्गा पास गराइदिने नाममा ठगी गरेको पनि खुलेको छ। अहिले ती व्यक्तिको जाहेरी परिसकेको छैन। उनीहरू सम्पर्कमा भने आएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए।

अरू खालका पीडितहरू पनि सम्पर्कमा आउनुभएको छ। ती सबै मुद्दा प्रहरीले नै हेर्छ कि हेर्दैन भनेर हामी बुझ्दैछौं, उनले भने, पाँच छ वर्षअघि भुक्तानी भइसकेको तर अहिलेसम्म जग्गा पास नभएको र पैसा लिएर सम्पर्कविहीन भएको भन्ने आठ नौ जना पीडितहरू पनि हाम्रो सम्पर्कमा आउनुभएको छ।

इच्छाराजले तीन(चार महिनामै घर निर्माण गरिदिने भन्दै सबै रकम लिएको तर घर नदिएको एक पीडितले सेतोपाटीलाई बताएका छन्। उनी सहकारीका पीडित निक्षेपकर्ता पनि हुन्। उनले धापाखेलस्थित चार आना जग्गामा घर बनाउन दुई करोड रूपैयाँ खर्चेका थिए। उक्त घर अहिलेसम्म बनिसकेको छैन।

पैसा चुक्ता गरिसक्दा पनि कतिको घर बनेको छैन, कतिको त नक्सा नै पास भएको छैन, उनले भने, त्यस्तो समस्या हुनेहरू धापाखेलकै मात्र १८ जना छन्।

उनका अनुसार सिभिल होम्सअन्तर्गत घर निर्माणकै लागि मात्र इच्छाराजले नौ अर्ब रूपैयाँ निकालिसकेका छन्। ब्युरोले यो विषय अनुसन्धान गर्न नभ्याएको प्रहरी उपरीक्षक महतोले बताए।

ुहजारौं पानाका कागजपत्र छन्,ु उनले भने, ुयो ठूलो मुद्दा हो। अहिले हामी कागजपत्र संकलन गर्ने चरणमा मात्र छौं।

इच्छाराज सिभिल बैंकका अध्यक्ष हुन्। उनी संविधानसभामा एमाले तर्फबाट सभासद पनि थिए। उनलाई ब्युरोले गत असोज १८ गते सुन्धारा क्षेत्रबाट पक्राउ गरेको थियो।

उनीसँगै पक्राउ पर्नेमा सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिसटेन्ट म्यानेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्ध बुद्धराज तामाङ, मौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र पूर्वा लेखा समिति सदस्य हरिहर लामिछाने छन्।

२०४७ सालको परिवर्तनपछि नेपालमा सहकारी संस्थाको अवधारणा आयो। त्यसअघि एकआपसमा ऐँचो(पैंचो, सापटी वा ढुकुटीजस्ता माध्यमबाट मानिसहरू आफ्नो आर्थिक समस्या टार्थे। त्यही क्रममा इच्छाराजको उदय भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति