कांग्रेसको १४ औं महाधिवेशन : ६०५ स्थानीय तहमा अधिवेशन सकियो :कुन प्रदेशमा को बलियो

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हालसम्म ६०५ वटा स्थानीय तहमा नेतृत्व चयन भइसकेको छ। मंगलबार साँझसम्मको परिणामअनुसार आएका ६०५ मध्ये २५० देउवा पक्षीय नेताहरु स्थानीय तहको इकाई सभापतिमा निर्वाचित भएको दाबी गरिएको छ।

त्यस्तै १८० स्थानका स्थानीय तह इकाई सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायत पक्षका नेता निर्वाचित भएको बताइएको छ। सम्पन्न पालिका अधिवेशनमा नेता कृष्णप्रसाद सिटौला पक्षका १६ जना, विजय गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना निर्वाचित भएको कांग्रेसले जनाएको छ। ४९ पालिका सभापतिहरुको पक्ष नखुलेको पनि कांग्रेसले जनाएको छ।

कुन प्रदेशमा कसको शक्ति बढी?

प्रदेश १ को १३६ पालिकामा भएको निर्वाचनमा देउवा पक्षले ६० स्थानमा सभापति जितेको दाबी गरिएको छ। पौडेलरकोइराला पक्षले ४९ स्थानमा मात्रै सभापति जित्न सफल भएको बताइएको छ। त्यस्तैगरी प्रदेश १ मा सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएका छन्। प्रदेश २ मा भने स्थानीय तहको अधिवेशन हुन सकेको छैन।

बाग्मतीमा हालसम्म सम्पन्न ९९ वटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको छ। त्यस्तै कोइराला र पौडेल पक्षले भने ३३ स्थानमा मात्रै सभापति जितेको बताइएको छ। कतिपय भने कुनै पनि गुटमा खुलेका छैनन्।

गण्डकीमा हालसम्म सम्पन्न निर्वाचनमा ८५ पालिकामध्ये देउवा पक्षले ३९ स्थानमा जितेको छ। पौडेलको गृह प्रदेश गण्डकीमा उनी र कोइराला पक्षका २७ जनाले मात्रै पालिको सभापतिमा जित हासिल गरेका छन्।

लुम्बिनी प्रदेशमा सम्पन्न ८८ पालिका अधिवेशनमा पनि देउवा पक्ष अगाडि देखिएको छ। लुम्बिनीमा देउवा पक्ष ३५ स्थानमा सभापति जित्न सफल भएको छ। लुम्बिनीमा पौडेल र कोइराला पक्षका भने २९ जनाले मात्रै सभापति जितेका छन्। कतिपय भने कुन पक्षको भन्ने खुलेका छैनन्।

कर्णालीमा अधिवेशन सम्पन्न भएका ६२ पालिकामध्ये देउवा पक्षले ३६ स्थानमा जितेको छ। त्यस्तै कोइराला र पौडेल पक्षले भने २६ स्थानमा पालिका सभापतिमा जितेको छ। कर्णालीमा पनि कपितय निर्वाचित सभापतिहरु कुन पक्षमा हो भन्ने प्रष्ट खुलेका छैनन्।

सुदूरपश्चिमका सम्पन्न १९ पालिका अधिवेशनमा देउवा पक्ष १७ स्थानमा विजयी भएको छ। त्यहाँ कोइराला र पौडेल पक्षले भने बझाङको १ ठाउँमा मात्रै जितेको छ। सुदूरपश्चिममा अधिकांश क्षेत्रमा पालिका अधिवेशन हुन बाँकी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति