मन्त्रालय बाडँफाँटमा सहमति : कांग्रेस ६, माओवादी–नेकपा एस र जसपाले पाउने भए पाँच /पाँच मन्त्रालय

काठमाडौं, १९ असोज । काठमाडौं । सत्तारुढ गठबन्धनभित्र मन्त्रालय भागबण्डामा सहमति जुटेको छ ।आज बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले मन्त्रालय भागबण्डामा सहमति भएको पुष्टी गरे ।

‘मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । अब सबै दलले आन्तरिक तयारी गरेर शुक्रबारसम्म जसरी पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने कुरा भएको छ’, देउवाले नेपाल पेजसंग भने । सहमतिअनुसार कांग्रेसले ६ वटा मन्त्रालयको नेतृत्व गर्नेछ । अहिले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाण, परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का र कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की छन् ।

कांग्रेसबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा छन् । स्रोतका अनुसार अब कांग्रेसले सञ्चार र महिला बालबालिका मन्त्रालय लिनेछ ।नेकपा माओवादी केन्द्र , नेकपा एस र जसपाले ५/५ मन्त्रालयको नेतृत्व र १/१ राज्यमन्त्री पाउने सहमति बनेको छ ।

माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भूसालले जिम्मेवारी पाइसकेका छन् । माओवादीले अब कृषि, खानेपानी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाउँनेछ । नेकपा एसले पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, युवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउँनेछ ।

जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, श्रम तथा रोजगार, वन तथा वातावरण र शिक्षा मन्त्रालय पाउँनेछ । माओवादी, नेकपा एस र जसपाले १/१ राज्यमन्त्री पाउने बताइन्छ । त्यसो हुँदा वर्तमान स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मन्त्रीमा बढुवा गर्नुपर्ने वा जिम्मेवारी मुक्त गर्नुपर्ने अवस्था आउँछ ।

गठबन्धनमा सक्रिय एक कांग्रेस नेताका अनुसार मन्त्रिपरिषद् विस्तारमा बनेको सहमतिले अन्तिम रूप पाइसकेको छैन । ‘रक्षामा कांग्रेसको पनि दावी भएकोले त्यसबाहेक अरु चाहिँ मिल्यो भन्दा होला’, ती नेताले भने ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले बैठकमा मन्त्रालय बाडफाँडको विषयमा प्रारम्भिक सहमति भएको र आन्तरिक छलफलपछि टुंगोमा पुर्‍याउने सहमति बनेको बताए । ‘अब दलभित्रै आन्तरिक छलफल गरिरहेका छौँ । भोलि या पर्सिसम्म टुंग्याएर मन्त्रिपरिषद् विस्तार हुनसक्छ,’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति