काठमाडौंमा कोड वर्ड प्रयोग गर्दै पाकेट मार्ने २०७ पक्राउ, यस्तो थियो उनिहरुको कोड वर्ड

काठमाडौं, १८ असोज । काठमाडौंबाट दुई सय सात जना पाकेटमार तथा चोरहरू पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।सोमबार परिसरमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो।

दसैं–तिहारमा घर फर्किनेहरूको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको हो।
प्रहरीले भदौ २५ गतेदेखि अपरेसन थालेको एसएसपी सिंहले बताए। प्रहरीले यातायात व्यवसायहरूको संयुक्त समन्वयमा अपरेसन गरेको हो।
प्रहरीले १६१ जनामाथि अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा चलाएको सिंहले बताए।

जाहेरी आउनेक्रममा जारी रहेको हुँदा उनीहरूमाथि अहिले अभद्र व्यवहारमा मुद्दा चलाएका छौं, उनले भने। ४६ जना भने पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। सामान्य धरौटी पनि नतिरी उनीहरू आफैं जेल गएको प्रहरीले जनाएको छ। प्रहरीले फेरि पक्राउ गर्न सक्ने भन्दै उनीहरू जेल गएको सिंहले बताए। प्राय उनीहरूले सार्वजनिक बसमा पाकेट मार्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू दुई÷दुई जनाको दरले ६ जनाको टोली बनाएर बसभित्र जाने गर्थे।

भित्र पसेपछि उनीहरूले पैसा धेरै हुने व्यक्ति पहिचान गर्थे। पहिचान भएपछि उनीहरूले पैसा भएका व्यक्तिलाई घेराबन्दी गरेर ठेलमठेल गरेर चोर्थे।उनीहरूले त्यसक्रममा कोड वर्ड प्रयोग गर्थे। पीडितलाई उनीहरूले रामे भन्थे। पैसालाई द, मोबाइललाई कान, पाकेटमार गर्ने व्यक्ति मास्टर वा काशी, पैसा धेरै छ भन्ने संकेत दिन टानको द पैसा, थोरै छ जुटको द, गाडीलाई काँचा भन्दै सांकेतिक भाषा प्रयोग गर्थे।त्यसैगरी केटालाई छापा, केटीलाई भद्री, पुलिस आए ठूल्दाइ आयो, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग भन्नलाई भने उनीहरूले टप्की भन्ने गरेको खुलेको छ। अगाडि जा लाई अकल जा र पछाडि जा भन्नलाई चिछल जा भनेर कोड वर्ड प्रयोग गर्थे। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति