काठमाडौं, १७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आफ्ना नागरिकको र नेपालको न्यायको लागि बोल्नसम्म नसकेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विधान महाधिवेशनको अन्तिम दिन आइतबार समापन सम्बोधन गर्दै ओलीले नेपालीको न्यायको लागि देउवा सरकार बोल्न पनि नसकेको अभिव्यक्ति दिएका हुन् ।
दार्चुलाका स्थानीय जयसिंह धामी तुइन तर्दा भारतीय एसएसबीले तुइन काट्दा महाकालीमा बेपत्ता भएको घटनातर्फ संकेत गर्दै ओलीले सरकारको आलोचना गरेका हुन् ।ओलीले भने, तुइन काटेर, मान्छे झराएर मराइन्छ एउटा नेपाली । यो सरकार नबोल है भनेर पत्रकारलाई सर्कुलर गर्छ । छानबिन समिति बनाउँछ र त्यसले भन्छ यसरी दुर्घटना भएको हो तुइन काटिएको हो । त्यो रिपोर्ट लुकाउन हाइतौबा हुन्छ ।
आफ्नो न्यायका लागि बोल्न पनि नसकेको भन्दै सरकारप्रति ओलीले कटाक्ष गरे, यो सरकार दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन । उनीहरूसँग भन्ने कुरा त छोडिदिउँ । आफूले न्याय पाउनका लागि बोल्न पनि सक्दैन भने कस्तो सरकार होला ?नेपाली आकाशमा विदेशी हेलिकोप्टर उडेको हो कि होइन पनि सरकार भन्न नसकेको ओलीको भनाइ थियो ।
प्रतिक्रिया