केराउ, सुपारी, छोकडा र मरिच आयातमा लाग्यो रोक

काठमाडौं, १७ असोज । केराउ, सुपारी, नधुल्याएको मरिच र छोकडाको आयातमा रोक लागेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुरोध गरेको जनाउँदै राष्ट्र बैंकले यस आर्थिक वर्षका लागि यी चार वस्तुको आयातमा कोटा निर्धारण र इजाजत प्रदान नभएकाले आयात गर्न कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।

यसअघि केराउ, सुपारी, छोकडा र दाना मरिचको आयातमा सरकारले परिमाणात्मक बन्देज लगाउँदै निश्चित कोटा छुट्याएको थियो। तर यस आर्थिक वर्षमा आयातका लागि अहिलेसम्म कोटा निर्धारण भइसकेको छैन भने इजाजत समेत प्रदान नभएको राष्ट्र बैंकले जनाएको छ।कोटा नछुट्याएकाले ती वस्तुको आयातका लागि नयाँ प्रक्रिया अघि नबढाउन भनिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईले जानकारी दिए। इजाजत प्रदान नभएकाले ती बस्तुको आयातका लागि बैंकिङ तथा भुक्तानी सम्वन्धी प्रक्रिया अघि नबढाउन राष्ट्र बैंकले सूचना जारी गरेको छ।

तर आर्थिक वर्ष २०७७ ७८ को लागि ती बस्तुको आयातमा कोटा पाएका आयातकर्ताले २०७८ असार मसान्तभित्र जहाज ढुवानी गराइसकेका र एलसीरडिएपीरडिएएरडिडीरटिटी खोलिसकेका बस्तुहरु हकमा भने यस आर्थिक वर्ष पनि भन्सार जाँचपास हुने छ। अर्थात असार मसान्तसम्म जहाज ढुवानी भइसकेका र एलसी खोलिसकेको अवस्थामा ती बस्तु नेपाल ल्याउन पाइनेछ। निर्देशक भट्टराईले सरकारले कोटा छुट्याएपछि र इजाजत दिएपछि मात्रै आयातका लागि प्रक्रिया अघि बढ्ने बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति