नेपाल–भारतबीच संयुक्त सैनिक अभ्यास सम्पन्न

काठमाडौँ, १७ असोज । भारतको पिथौरागढमा सञ्चालित “एक्स सूर्य किरण” पन्ध्रौँ समूहको नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना फौजको सहभागिता रहेको उक्त अभ्यास यही असोज ४ देखि १६ गतेसम्म भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


सैनिक युद्धकला, प्राकृतिक प्रकोप एवं कोभिड–१९ महामारीजस्ता विपद्का बेला सुरक्षा फौजको भूमिकाको व्यावहारिक अभ्यासका साथै सहभागी फौजले आ–आफ्नो पेशागत अनुभवसमेत अभ्यासका क्रममा साटासाट भएको थियो ।


भारतीय सेना मध्य कमाण्ड सेनापति रथी एसएस महलद्वारा शनिबार अन्तिम प्रवचन भएको उक्त अभ्यास समापन समारोहमा नेपाली सेनाको मध्य कमाण्ड सेनापति उपरथी विनयविक्रम राणा, ३ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कुमारबाबु थापा तथा नेपाल र भारतका सैनिक सहचारीलगायत सहभागी रहेको सेनाले जनाएको छ ।


संयुक्त सैनिक अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन तथा सकल दर्जामा आधारभूत सैनिक सीपको विकास एवं आपसी समझदारी बढाउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति