विधान महाधिवेशनको ब्यङग्य : “जेलैमा हो जेलैमा चरी जेलैमा, घनश्यामले बुद्धि पुर्‍याए धन्न बेलैमा”


काठमाडौं, १६ असोज । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सकिनेबित्तिकै कलाकार पुरुषोत्तम भण्डारी प्रहसनका लागि स्टेजमा आए । पछिसम्म माधव नेपाललाई साथ दिएर अन्तिममा एमालेमै रहेका १० भाइ नेतालाई व्यंग्य गरे । यद्यपि नामचाहिँ घनश्याम भुसालको मात्रै लिए, ‘जेलैमा हो जेलैमा चरी जेलैमा, घनश्यामले बुद्धि पुर्‍याए धन्न बेलैमा ।

महाधिवेशनमा नेपालको साथ छाडेर आएका नेताहरूको भूमिका खुम्च्याइएको छ नै। कार्यक्रममा प्रस्तुत गरिएको प्रहसनमा समेत उनीहरूलाई घोचपेच गर्ने र ओलीको महिमा गान केन्द्रित थियो।अध्यक्ष ‌ओलीले प्रतिवेदन पढ्दै गर्दा खोकीका कारण उनले पढ्न नसकेको प्रतिवेदन नेता शङ्कर पोखरेलले पढेर सक्काएका थिए। राजनीतिक प्रतिवेदनको वाचन सकिएपछि खाजा ब्रेक अगाडि प्रहसनका लागि प्रदीप ज्ञवालीले मञ्चमा बोलाएका कलाकार पुरुषोत्तम भण्डारी अर्थात खुर्पिको बालाई। उनी एमाले निकट कलाकार संघको सदस्य हुन्। उनले प्रहसनमा अध्यक्ष ओलीको महिमा गान गर्दै नेपाल समूह छाडेर आएका १० जना नेतालाई ब्यङग्य कसे।

उनले मञ्चमा आउँदाआउँदै माधव नेपाललाई तारो बनाउँदै प्यारोडी गाए निरा जहिले रिसाउने, निरा जहिले रिसाउने, एमालेलाई नसकेर काँग्रेसले माधव नेपाल मिसाउने। ताली बज्यो। प्रतिनिधी गलल हाँसे। उनी हौसिँदै गाउन थाले घाम जस्तो उज्यालो जुन हुँदैन, जति रुन परे नि रामकुमारीसँग रोऊँ माधव, एमालेले देख्ने गरी रुनु हुँदैन।

एमालेको गाथा गाउँदै प्रहसनलाई अगाडि बढाउँदै जाँदा उनले देखे घनश्यामलाई। उनले मोबाइल चलाइरहेका थिए। घनश्याम कमरेड मोबाइल चलाउँदै हुनुहुँदो रहेछ भन्दै उनले उहाँका लागि नि गीत बनाएको छु भन्दै भने जेलैमा हो जेलैमा, चरी जेलैमा, घनश्यामले बुद्धि पुर्‍याए धन्न बेलैमा। घनश्यामको मर्ममै हाने पनि उनी हाँसीरहेका थिए।

उनको प्यारोडी सुनेर विधान महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधीहरुमाझ हाँसोको फोहोरा छुटेको थियो। उनले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई पनि तारो बनाउँदै भने अष्टजी पनि हाँस्नु भो, तर मास्क लगाएर हाँसेको देखिएन। पार्टीमा विवाद बढ्दा प्रारम्भदेखि नै ओलीको पक्षमा उभिएका नेताहरुको मुहार भने बढो खुलेको थियो। उनीहरु कार्यकर्तामाझ हसिलो अनुहारका साथ देखिन्थे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति