काठमाडौं, १६ असोज। उच्च आयातले बाह्य क्षेत्र सन्तुलन बिग्रिएर आन्तरिक अर्थ व्यवस्थासमेत समस्यामा परेपछि राष्ट्र बैंकले केही वस्तुहरुको आयातमा कडाइ गर्नुपर्ने राय अगाडि सारेको छ।
बन्देज गरिएका वस्तुहरुको आयात नखोल्ने र थप केही वस्तुहरुको आयातमा परिमाणात्मक वा पूर्ण बन्देज लगाउनु पर्ने राय राष्ट्र बैंकले अगाडि सारेको हो।
राष्ट्र बैंकले के-कस्ता वस्तुको आयातमा नियन्त्रण गर्ने भनेर सूची तयार पारिसकेको छ। अनौपचारिक रूपमा यसको जानकारी अर्थमन्त्रालय र वाणिज्य मन्त्रालयलाई पनि गराइसकेको छ।
गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमित भएर आइसोलेसन मा बसेका कारण सूची बुझाउन केही समय लागेको छ। केही दिनमै गभर्नरले सरकारलाई आफ्नो सूची बुझाउने छन्।
राष्ट्र बैंकले अवस्था गम्भीर बन्दै गएको छ भनेर यसअघि नै सरकारलाई जानकारी गराएको थियो। त्यसो भए के गर्न सकिन्छ भनेर सरकारी पक्षले आवश्यक सुझाव तयार पार्न राष्ट्र बैंकलाई भनेको थियो। त्यही सुझावका आधारमा राष्ट्र बैंकले कुन कुन वस्तुहरुको आयात नियन्त्रण गर्ने भनेर सूची तयार पारेको हो।
राष्ट्र बैंकले पहिलो नम्बरमा सुनचाँदीलाई राखेको छ भने दोस्रोमा विलासी गाडीहरुलाई राखेको छ। परार पनि सरकारले ५० हजार डलरमाथिका गाडी आयातमा रोक लगाएको थियो। ६ महिनाअघि बल्ल यो खुलाएको हो।
अब पनि ५० हजार डलरमाथिका गाडी आयातमा तत्काललाई रोक लगाउने सुझाव राष्ट्र बैंकले दिने छ। राष्ट्र बैंक भनेको सरकारको सल्लाहकार हो, आवश्यक सल्लाह दिने हो। कार्यान्वयन त फेरि पनि सरकारले नै गर्ने हो, राष्ट्र बैंक उच्च स्रोतले भन्यो।
देशको बाह्य अवस्था गत जेठ महिनाबाट खस्किन थालेको हो। जेठमा शोधनान्तर २४ महिनापछि घाटामा गएको थियो भने चालु खाता घाटा देशको अर्थतन्त्रको आकारको ८ प्रतिशत हाराहारी पुगेको थियो। असारमा शोधनान्तर मुस्किलले बचतमा देखिए पनि साउनमा एकैपटक चुलिएको थियो।
साउनमा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात भएको थियो। उच्च आयातका कारण एकै महिनामा सर्वाधिक शोधनान्तर घाटा साउनमा भएको हो। शोधनान्तर ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा गएको थियो।
भदौमा एक खर्ब ६३ अर्ब ७८ करोड रुपैयाँको आयात भएको छ। यसले शोधनान्तर घाटा दोस्रो महिनानै ६० खर्ब बढि पुग्ने अनुमान छ। शोधनान्तर देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर हो। कम आउँदा घाटा हुन्छ। यसपाली रेमिटेन्स पनि घटेका कारण घाटा अझ चुलिएको हो।
राष्ट्र बैंकले सुनसँगै चाँदी, हिरा र निर्यातजन्य गहना उत्पादनका लागि आयात गरिने वस्तुमा पनि परिमाणात्मक बन्देज लगाउन सिफारिस गर्ने भएको छ। पोहोर सात हजार ३ सय किलो सुन आयात भएको थियो। यसमा २७ अर्ब रुपैयाँभन्दा बढि पैसा बाहिरिएको थियो। यसबाहेक १० अर्बभन्दा बढीको चाँदी आयात भएको थियो भने २ अर्ब रुपैयाँ हाराहारी हिराजडित गहनाको आयात भएको थियो।
अहिले सुन दैनिक रूपमा २० किलो आयात गर्न पाइन्छ। यसको कोटा १० किलोमा झार्नुपर्ने राय राष्ट्र बैंकको छ। चाँदी र हिराजडित गहनामा पनि परिमाणात्मक बन्देज लगाउनु पर्ने सुझाव राष्ट्र बैंकले दिँदैछ।
राष्ट्र बैंकले निर्यात गर्ने भनेर आयात गरिने केही वस्तुहरुमा पनि बन्देज लगाउनु पर्ने सुझाव दिने छ। गत वर्ष ५४ अर्बको भटमास तेलको कच्चा पदार्थ किनेर ५३.७ अर्ब रुपैयाँको निर्यात भएको थियो। कुल निर्यातमा यसको हिस्सा ३८ प्रतिशत छ।
यस्ता कृत्रिम निर्यातका लागि ल्याइने वस्तुहरुको आयातमा कडाइ गरिनु आवश्यक छ, राष्ट्र बैंकका एक अधिकारीले भने। राष्ट्र बैंकले आयात र निर्यातको तथ्यांक हेरेर फजुल खर्च भइरहेका वस्तुहरुको आयात नियन्त्रण गर्ने वस्तुहरुको सूची तयार पारेको ती अधिकारीले जानकारी दिए।
उच्च आयातका कारण देशको बाह्य क्षेत्र अवस्था समस्यामा पर्न थालेको जानकारी गभर्नर अधिकारीले संसदीय समितिलाई नै गराएका थिए। जेठको अवस्थालाई हेरेर उनले संसदलाई सचेत गरेका थिए। त्यतिबेलै गभर्नरले केही उपाय नगरे समस्या बढ्छ भन्ने संकेतसमेत गरेका थिए।
पुरानो बन्देजलाई यथावत
सरकारले केराउ, सुपारी, मरिचलगायतको आयातमा बन्देज लगाइसकेको छ। परार बन्देज लगाए पनि पोहोर केही मात्रामा आयात गर्न दिएको थियो।
पोहोरका लागि मात्र कोटा दिइएकाले यसपाली भने सरकारले निर्यण नगरेसम्म भित्र्याउन पाइँदैन। त्यसैले बन्देज लगाएका वस्तुहरुको आयातलाई खोल्न नहुने राय राष्ट्र बैकको छ।
बन्देजपछि पोहोर भने एक पटकका लागि ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी, १२ हजार मेट्रिक टन मरिच र ५ हजार मेट्रिक टन छोकडा ल्याउन खुला गरिएको थियो। यो सहुलियत आर्थिक वर्ष २०७७/७८ का लागि थियो।
पछिल्ला केही दिन केही व्यवसायीले यो आयात गर्ने प्रयास गरिरहेका छन्। यी वस्तुहरु आयातका लागि कुनै बैंकले प्रतीत पत्र ९एलसी० खोलेमा राष्ट्र बैंकले कारबाही गर्ने भएको छ। हामीले बैंकहरुलाई त भन्दिइसकेका छौं कारबाही हुन्छ भनेर, राष्ट्र बैंक उच्च स्रोतले भन्यो, यस बारेमा चाँडै सूचना पनि प्रकाशित गर्ने छौं।
प्रतिक्रिया