एमसीसी सम्झौता कार्यान्वयनबारे वासिङ्टन डीसीमा भएको बोर्ड बैठकमा सुमारको ‘ब्रिफिङ’

काठमाडौँ, १६ असोज । नेपालमा निकै चर्चामा रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालमा एमसीसी सम्झौता कार्यान्वयनको अवस्थाबारे बोर्डलाई जानकारी दिएकी छन् ।

एमसीसी बोर्डका अध्यक्ष तथा विदेशमन्त्री एन्टोनी ब्लिन्केनको नेतृत्वमा बुधबार वासिङ्टन डीसीमा भएको बोर्ड बैठकमा सुमारले नेपालको स्थितिबारे ब्रिफिङ गरेकी हुन् ।सम्झौताकै विषयमा उपाध्यक्ष सुमारले गत भदौ २४ देखि २७ गतेसम्म नेपाल भ्रमण गरेकी थिइन् । भ्रमणका दौरानमा उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेकी थिइन् ।

उनले केही सांसदहरूसहित निजी क्षेत्रका विभिन्न व्यक्तिसँग पनि भेटवार्ता गरेकी थिइन् । चार वर्षअघि भएको एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुन नसक्दा कार्यान्वयन सुरु भएको छैन । नेपालमा एमसीसी सम्झौतालाई लिएर सत्ता गठबन्धन र अन्य दलबीचमा फरक–फरक मत रहेको छ ।नेपालको गरिबी निवारणमा एमसीसीबाट प्राप्त हुने ५ सय मिलियन डलर अनुदानले ठूलो सहयोग गर्ने सुमारले नेपाल भ्रमणको दौरानमा बताएकी थिइन् ।

एमसीसी सम्झौता नेपालको ऊर्जा र सडक पूर्वाधार विकासका लागि गरिएको हो । नेपाल भ्रमणका क्रममा उनले भनेकी थिइन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई फाइदा पुग्छ ।’ उनले यो सम्झौताको कुनै अन्तिम समयसीमा नरहेको पनि उल्लेख गरेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति