परराष्ट्रसचिव र भारतीय विदेश मन्त्रालयका सहसचिवबीच भेटवार्ता

काठमाडौं, १५ असोज । नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका नेपाल र भुटानसहित उत्तरी महाशाखा हेर्ने सहसचिव अनुराग श्रीवास्तवले परराष्ट्रसचिव भरतराज पौड्यालसँग भेटवार्ता गरेका छन् ।उनीहरुबीच शुक्रबार बिहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

नेपालको चारदिने भ्रमणमा आएका श्रीवास्तव र परराष्ट्रसचिव पौड्यालबीचको भेटवार्तामा द्वीपक्षीय विषयहरुलाई अघि बढाउने र आपसी हितका विषयमा छलफल भएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।भेटवार्ताका सम्बन्धमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने खुलाउन चाहिनन् । नेपालले भारतलाई पछिल्लो महिना दुई घटनामा कुटनीतिक नोट पठाए पनि त्यसको सम्बन्धमा भारतको प्रतिक्रिया आएको छैन ।

दार्चुलामा महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका दुई जना संलग्न रहेको सम्बन्धमा छानबिन गर्न र उक्त घटनामा ज्यान गुमाएका जयसिंह धामीलाई क्षतिपूर्तिका सम्बन्धमा नेपालले भारतलाई कुटनीतिक नोट पठाएको थियो । साथै, दार्चुला जिल्लामा भारतीय पक्षबाट हेलिकप्टर उठाएको विषयमा पनि कुटनीतिक नोट पठाइएको थियो । तर श्रीवास्तवको यो भ्रमणमा ती विषयहरु दुवै पक्षले उठाएनन् ।
श्रीवास्तव भूकम्कपछि भारतीय सहयोगमा नेपालमा पुनर्निर्माण भएका परियोजनाहरुको प्रगति ‘नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठकमा सहभागी हुन नेपाल आएका थिए ।

उक्त बैठक बिहीबार भएको थियो । उनले बिहीबार नै अर्थसचिव मधुकुमार मरासिनी र वाणिज्य सचिव दिनेश भट्टराईसँग भेटवार्ता गरेका थिए ।श्रीवास्तवले शुक्रबार गृह सचिव टेकनारायण पाण्डेसँग पनि भेटवार्ता गरेका थिए । उक्त अवसरमा पनि दुई मुलुक बीचको आपसी सम्बन्ध र विषयहरुलाई अघि बढाउन छलफल भएको भारतीय दूतावासले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति