काठमाडौं, १४ असोज । पछिल्लो समय रुस र पाकिस्तानबीचको निकटता बढ्दै गएको छ । रुसी समाचार संस्था तासका अनुसार रुस र पाकिस्तानको रक्षा मन्त्रालयले दुवै मुलुक रक्षा सहयोग बढाउन इच्छुक देखिएका बछन् । समाचारका अनुसार बुधबार रुसका उप रक्षामन्त्री एलेक्जेन्डर फोमिनले इस्लामावादमा द्विपक्षीय सैन्य सम्पर्क समितिको एक बैठकमा यस्तो जानकारी दिएका हुन् । फोमिनले भने, ‘वार्ताको क्रममा दुवै पक्षले पारस्पारिक हितका सम्बन्धमा भएको प्रगतिको प्रशंसा गरेका छन् र अन्य सैन्य सहयोग बढाउने विषयमा सहमति भएको छ ।’फोमिनले दुई मुलुकबीचको सम्बन्ध र रक्षा सहयोग क्षेत्रीय सुरक्षाको लागि निकै महत्वपूर्ण छ । उनले पाकिस्तानले महामारीको बाबजुद आफ्नो पूर्वनियोजित कार्यक्रममा कुनै पनि परिवर्तन नगरेको भन्दै प्रशंसा गरे ।यसअघि सेप्टेम्बर १४ मा पाकिस्तानी प्रधानमन्त्री इमरान खान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पछिल्लो समय विकसित घटनाक्रमको विषयमा फोनवार्ता भएको थियो । गत अप्रिलमा रुसका विदेशमन्त्री सर्गेइ लाभारोभले पाकिस्तान भ्रमण गरेका थिए । यो भ्रमण पछिल्लो नौ वर्षमा रुसी विदेशमन्त्रीको पहिलो पाकिस्तान भ्रमण थियो ।यो भ्रमणमा रुसले पाकिस्तानको सैन्य आपूर्तिको लागि सहयोग गर्ने बताएको थियो । त्यस्तै दुई मुलुकबीच संयुक्त सैन्य अभ्यासको विषयमा पनि सहमति भएको थियो ।
पाकिस्तान र रुसबीच सैन्य सहयोग बढाउने विषयमा सहमति
प्रतिक्रिया