काठमाडौं, १२ असोज । सरकारले दल विभाजन सहज हुने गरी ल्याएको अध्यादेश सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन् ।
गत भदौ २ गते जारी भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ले पार्टीको संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सक्ने व्यवस्था गरेको थियो । सरकारले ३२ साउनमा प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरी १ भदौमा यो अध्यादेश सिफारिस गरेको थियो । त्यसबेला प्रधानमन्त्री शेरबहादुर देउवाको तीन उद्देश्य थियो, प्रमुख विपक्षी नेकपा एमालेलाई विभाजन गर्ने, प्रतिनिधिसभामा बहुमत जुटाउने र बजेट पास गर्ने ।
२ भदौमा राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएलगत्तै माधवकुमार नेपालले एमाले विभाजन गरे र आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गरे । एमालेका प्रतिनिधिसभाका २३ र राष्ट्रियसभाका ८ सांसदले एकीकृत समाजवादी रोजे । यससँगै संसदमा सरकारको बहुमत पुग्यो ।
सरकारले २३ भदौमा संसद अधिवेशन बोलाएर राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभा बैठकमा टेबल पनि गर्यो । २५ भदौमा प्रमुख विपक्षी सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भयो, नाराबाजीकै बीच ११ असोज अर्थात आजै दुबै सदनबाट बजेटसम्बन्धी सबै विधेयक बहुमतबाट पारित भयो । अर्थात अध्यादेश ल्याउनुका सबै उद्देश्यहरु पूरा भयो ।‘यो संविधानको धारा ११४ को मर्म विपरीत छ र अध्यादेशसम्बन्धी व्यवस्थाको चरम दुरुपयोग हो’ संवैधानिक कानूनका जानकार एक कानुन व्यवसायी भन्छन्, ‘किनकी यो अध्यादेश कसैको दल फुटाउन वा कसैको सरकार टिकाउन ल्याइएको थियो र उद्देश्य पूरा भएपछि अध्यादेश खारेज भएको छ ।’ सोमवार अपरान्ह मन्त्रिपरिषद् बैठक बसेर अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्यो, जसलाई राष्ट्रपतिले सहजै स्वीकार गरेकी छन् ।
संविधानको धारा ११४ को उपधारा (१) अनुसार संसदको अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न परेमा सरकारले अध्यादेश ल्याउन सक्छ भने उपधारा २(ख) अनुसार राष्ट्रपतिबाट जुनसुकै बखत अध्योदश खारेज गर्न सक्छ । यसरी हेर्दा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनु र खारेज गर्नुलाई संविधान विपरीत भन्न मिल्दैन । तर संवैधानिक कानूनका जानकारहरुले भने यसलाई संविधानको धारा ११४ अर्थात अध्यादेशसम्बन्धी व्यवस्थाको चरम दुरुपयोग भनेका छन् । किनकी कुनै पनि एउटा पक्षको स्वार्थ हेरेर कानुन बनाउन र त्यसको प्रयोग गर्नु नैतिक मानिदैन ।
संसद विघटनको सह–उत्पादन
यो अध्यादेशका कारण सबभन्दा ठूलो क्षति प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई भयो । संघीय संसदमा मात्र होइन, प्रदेश र स्थानीय तहमा निर्वाचित एमाले जनप्रतिनिधिहरुले पनि नयाँ दल एकीकृत समाजवादी रोजेका छन् । कुनै समय केन्द्रदेखि ६ वटा प्रदेश सरकारको नेतृत्वमा रहेको यो दल, पार्टीमा आएको फुटकै कारण अब सबैतिर प्रतिपक्षमा पुग्दैछ ।प्रदेश १ र बागमती प्रदेश सरकार अल्पमतमा परिसकेको छ र दशैं अगाडि दुबै प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलीय गठबन्धनको तयारी छ । उनीहरुका अनुसार खासगरी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी संविधान विपरीत दुईदुई पटक प्रतिनिधिसभा विघटन गरे, त्यसकै सह–उत्पादन (बाइप्रोडक्ट) हो राजनीतिक दलसम्बन्धी अध्यादेश । ‘केपी ओलीले संसद विघटन गर्दा माधवकुमार नेपालहरुले विद्रोह गरे र संविधान जोगियो । संविधान जोगाउन भूमिका खलेका उनीहरु नै दण्डित हुने वा उनीहरुले आत्मसमर्पण गर्नुपर्ने अवस्था आउनु दिन पनि नैतिक हुन्नथ्यो’ एक विश्लेषक भन्छन्, ‘त्यसैले यो अध्यादेशलाई संवैधानिक सँगै राजनीतिक दृष्टिकोणबाट पनि हेर्न जरुरी छ ।’ यसका बाबजुद कुनै पक्षको स्वार्थ हेरेर ल्याउनु नीतिगत भ्रष्टीकरण नै हो र यो पटक बसेको गलत नजीरले राजनीतिक व्यवस्थालाई कमजोर नै बनाउँछ ।
।
प्रतिक्रिया