काठमाडौं, असोज १० । पूर्वमन्त्री पुरुषोत्तम पौडेलले एमालेमै रहने निर्णय गरेका छन् । माधव नेपाल र झलनाथ खनालले गठन गर्नुभएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पौडेलले अहंकारको भरमा खडा गरेको बिचार बिहीन पार्टीबाट मुलुकमा परिवर्तन संभव नहुने भन्दै उनले एमालेमै रहने निर्णय गरेका हुन ।
‘आफूले जगैदेखि उठाएको पार्टीलाई अझै मेहनत साथ शुद्धीकरण र सुदृढिकरण गर्दै अघि बढ्नु उचित हुने देखिन्छ । पार्टी विभाजन गरेर अनेक शक्तिहरूलाई खेल्ने अवसर दिनुभन्दा हरेकले आफैंलाई सच्याएर अघि बढ्नु सर्वथा उचित हुने स्पष्ट छ,’ पौडेलले आफू नेकपा एकीकृत समाजवादीमा जान नसक्ने र एमालेमै रहने निर्णय सुनाउँदै सामाजिक संजालमा लेखेका छन् । उनले एमालेकोबिकल्प अरु हुन नसक्ने पनि प्रष्ट पारेका छन् ।
‘यस्तो घडीमा हरेकले आवेशले भन्दा विवेकले निर्णय गर्नुपर्दछ । मेरो विवेकले पार्टी र एकताको पक्षमा निर्णय गर्न प्रेरित गरिरहेको छ । मेरो यो निर्णय आफ्नो निर्णय हुन्छ, यो आफ्नै लागि हुन्छ । मेरो यो निर्णय कतिलाई उचित र जायज लाग्न सक्दछ । कतिपयलाई यो अनुचित र ननिको पनि लाग्न सक्दछ । जे–जस्तो लागे पनि यो मेरो निर्णय र विचार हो । तसर्थ आजसम्म मलाई सहयोग, समर्थन र श्रद्धा प्रकट गरी आउनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु,’ पूर्वमन्त्री पौडेलले भनेका छन् ।

प्रतिक्रिया