काठमाडौं, ९ असोज । नेकपा एमालेले आफूलाई नेपाली श्रमजीवी जनताको सबैभन्दा प्रतिनिधिमूलक पार्टी र दक्षिण एसियाकै व्यवस्थित पार्टी दाबी गर्दै आएको छ । देशैभरिका सबै सदस्यको रेकर्ड व्यवस्थित रहेको बताउदै आएको छ । तर, अहिले पार्टीका केन्द्रीय सदस्यहरुकै संख्या कति हो भन्ने तथ्य स्वयं महासचिव ईश्वर पोखरेललाई नै थाहा छैन । असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुने एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत गर्न महासचिव पोखरेलले ५३ पृष्ठ लामो संगठनात्मक प्रस्ताव तयार पारेका छन् । सो प्रस्तावमा महासचिव पोखरेलले केन्द्रीय कमिटीको सदस्य संख्यामा प्रश्नवाचक चिन्ह लगाएका छन् ।
एमाले महासचिव ईश्वर पोखरेलले आफ्नो संगठनात्मक प्रस्तावमा भनेका छन्, ‘दसौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजना गरिएको विधान महाधिवेशनको समय पार्टी केन्द्रीय कमिटीका सदस्यहरुको संख्या २११(?) रहन पुगेको छ ।’ अब ०७१ असार–साउनमा सम्पन्न नवौं महाधिवेशनयता नेकपा एमालेका केन्द्रीय सदस्यको खास संख्या कति हो भन्नेबारे महासचिव पोखरेलले स्थायी कमिटीको बैठकमा पेश गरेको तथ्यांकका आधारमा हिसाब–किताब गरौं–
पदाधिकारी –२०७१ साउन १ गते सम्पन्न नवौं महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव उपमहासचिव र सचिवसमेत गरी १३ जना पदाधिकारी निर्वाचित गरेको थियो । निवर्तमान अध्यक्ष झलनाथ खनाल र अध्यक्षमा पराजित माधव नेपाल (बरिष्ठ नेताद्वय) लाई समेत जोड्दा एमालेको पदाधिकारी संख्या अर्थात ‘कोर लिडरसीप’ १५ सदस्यीय थियो । पदाधिकारीमा अध्यक्ष ओली अल्पमतमा परेका थिए । केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङसमेत ६ जना मात्र संस्थापन पक्षमा थिए । माधव नेपाल पक्षबाट युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य गोकर्ण विष्ट र योगेश भट्टराईसहित ७ जना थिए । यसमा झलनाथ खनाल र माधव नेपाललाई समेत जोड्दा पदाधिकारीको शक्ति सन्तुलन ९/६ थियो । विधानमा पाँचजना उपाध्यक्ष रहने भनिए पनि ४ जना मात्रै उपाध्यक्ष रहे । पछि वामदेव गौतम माधव नेपाल पक्षमा लागेपछि पदाधिकारी टिम ओलीको पक्षमा ५ र नेपालको पक्षमा १० हुन गयो ।
थपिएका केन्द्रीय सदस्य – नेकपा एमालेको नवौं महाधिवेशनले १२३ पूर्ण र ४४ जना वैकल्पिक सदस्य गरी १६७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । त्यसपछि विभिन्न समयमा १२ पूर्ण र ९ वैकल्पिक गरी २१ जना केन्द्रीय सदस्य मनोनित भए ।
०७३ फागुनमा मेची महाकाली अभियानका क्रममा अध्यक्ष ओलीले १२ पूर्ण र १० वैकल्पिक गरी २२ जना मनोनित गरे । माओवादीसँग पार्टी एकता गर्ने बेलामा ०७५ जेठ २ मा ४६ जना सदस्यहरु मनोनित भए । र, माओवादीबाट एमाले अलग भएपछि ०७८ फागुन २८ गते पूर्वमाओवादीका बादलसहित २३ जना एमालेको केन्द्रीय कमिटीमा मनोनित भए । यो सबै जोड्दा केन्द्रीय सदस्यहरुको कुल संख्या २७९ जना पुग्छ ।
घटेका केन्द्रीय सदस्य स् एमालेमा केन्द्रीय सदस्यहरु थपिएका मात्रै छैनन्, घटेका पनि छन् । यसबीचमा दुर्घटना, कोरोना लगायतका विभिन्न कारणबाट ६ जना केन्द्रीय सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनाथ ढकाल, रवीन्द्र अधिकारी, महिन लिम्बु, दिनेशचन्द्र यादव, पशुपति चौलागाई र योगनारायण यादव छन् ।
एमाले उपाध्यक्ष भइसकेकी विद्यादेवी भण्डारी राष्ट्रपति बनेका कारण उनी केन्द्रीय सदस्य छैनन् । त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाका कारण अर्को एक सीट घटेको छ । त्यसैगरी केन्द्रीय कमिटीमा रहेका एकजना प्रदेशका सभामुख बनेका छन् भने दुईजना राजदूत बनेका छन् । त्यस्तै राधाकृष्ण मैनाली र प्रल्हाद गिरीले पहिल्यै एमाले छाडिसकेका छन् ।
पछिल्लो समय माधव नेपाल नेतृत्वको पार्टीमा ५५ जना केन्द्रीय सदस्यहरु गएका छन् । यसरी मृत्यु हुनेदेखि पार्टी छाड्नेम्मको संख्या जोड्दा ६८ पुग्छ । एमालेको कुल सदस्य संख्या २७९ मा ६८ जना घटाउँदा २११ हुन जान्छ । तर, महासचिव पोखरेलले आफ्नो प्रतिवेदनमा २११ संख्यालाई प्रश्नवाचक चिन्हभित्र राखेका छन् ।
माधव नेपालतिर कति गए
एमाले महासचिव ईश्वर पोखरेलको प्रतिवेदन अनुसार अध्यादेशबाट पार्टी फुटाएर माधव नेपालतिर लाग्नेहरूमा केन्द्रमा ५५ जना छन् । निर्वाचन आयोगमा प्रस्तुत २६५ सदस्यलाई आधार मान्ने हो भने माधव नेपालको पक्षमा २० प्रतिशत पुग्छ । तर, १४ सांसदको कारवाही सदर हुने हो भने २० प्रतिशतका आधारमा निर्वाचन आयोगबाट गरिएको विभाजन अवैधानिक ठहर हुन सक्छ । महासचिव पोखरेलले २६५ को १० प्रतिशत माधव नेपाल पक्षले पुर्याएको तर, १४ जनाको कारवाही सदर हुँदा माधव नेपालको पक्षमा २० पतिशत नपुग्ने बताइरहँदा आयोगले चाहिँ २०३ केन्द्रीय सदस्यलाई आधार मानेको छ । यो संख्याको २० प्रतिशत पुर्याउन ४१ जना केन्द्रीय सदस्य चाहिन्छ, जुन १४ सांसदमाथि कारवाही भए पनि पार्टी विभाजनका लागि पुग्ने संख्या हो ।
महासचिव पोखरेलका अनुसार स्थानीय तहका जनप्रतिनिधिहरुमा पार्टी असर १० प्रतिशत भन्दा कम छ । तर, पार्टी सदस्य र समर्थकका बीचमा भने विभाजनको असर नगन्य रहेको महासचिव पोखरेलले आफ्नो संगठनात्मक प्रस्तावमा उल्लेख गरेका छन् ।एक छिनलाई मानौं, महासचिव पोखरेलले भनेजस्तै एमालेका केन्द्रीय सदस्यहरुको संख्या २११ छ । उसो भए निर्वाचन आयोगमा रेकर्ड रहेका दुई संख्या ९ २०३ र २६५० मध्ये कुनलाई फलो गर्ने ? अनि अब माधव नेपालको पक्षमा लागेर रिक्त रहेका ५५ सदस्यमा महाधिवेशनअघि पदपूर्ति गर्ने कि नगर्ने ? अथवा मृत्यु भएका र राजनीतिक नियुक्तिमा गाएकासमेत जोड्दा खाली रहेको ६८ सिटमा पदपूर्ति गर्ने कि दसौं महाधिवेशनसम्म यत्तिकै राख्ने ? यी प्रश्नहरु एमालेभित्र उब्जिएका छन् ।
प्रस्तावित विधानले तोकेको संख्या स् नेकपा एमाले विधान संशोधन कार्यदलका संयोजक विष्णु पौडेलले तयार पारेको विधान संशोधनसम्बन्धी प्रस्तावमा २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको छ । एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव राख्ने पौडेलको प्रस्ताव छ ।
गोदावरीमा विधान अधिवेशन सकेपछि एमालेले त्यहीँबाट २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउँछ या दशौं महाधिवेशनपछि मात्र यो लागू हुन्छ रु अहिले नै स्पष्ट छैन । एमालेमा हाल कायम रहेका २११ सदस्यलाई प्रस्तावित विधान अनुसार नै २२५ बनाउने हो भने १४ जना केन्द्रीय सदस्य थप्नुपर्ने हुन्छ ।
प्रतिक्रिया