दशैँ लक्षित ११ असोजदेखि अग्रिम टिकट खुल्ने

काठमाडौं, ७ असोज । उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ।

यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताउदै आएका थिए।भोलि (शुक्रवार) सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भए पनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

उनले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरु नहुने पनि स्पष्ट पारे। महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ।महासंघका महासचिब सिटौलाले नागरिक सहायता कक्षहरू राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति