सरकार गठनमा अझै ढिलाई : नेपालको आग्रहमा आएन प्रतिस्थापन विधेयक

काठमाडौं, ७ असोज । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याउन लागिएको विधेयक रोकिएको छ। बिहीबार २ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक ल्याउने तयारी थियो। तर संसद सचिवालयले प्रतिस्थापन विधेयकलाई कार्यसूचीमा राखेको थिएन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा एमालेद्वारा दर्ता विचाराधीन मुद्दा किनारा नलागेसम्म अध्यादेशमाथि कारवाही अघि नबढाउन आग्रह गरेका कारण उक्त प्रतिस्थापन विधेयक रोकिएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहितका १४ सांसदलाई कारवाही गरिएको कार्यान्वयन नगरेको भन्दै सर्वोच्चमा रिट हालेका थिए ।

नेता नेपालसहित १४ सांसदले पार्टीको ह्विप उलंघन गर्दै वैशाख २७ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा संसदमा उपस्थित नभएको दाबी एमालेले गरिरहेको छ। नेपालले सरकारलाई उक्त आग्रह गरेपछि तत्कालै अध्यादेश प्रतिस्थापन विधेयक संसदमा अघि नबढ्ने भएको हो।

बुधबार बसेको सत्तारुढ दलको शीर्ष नेताहरुको बैठकमा अध्यक्ष नेपालले तत्काल प्रतिस्थापन विधेयक नल्याउन सुझाव दिएका थिए। उक्त रिटको सर्वोच्चले फैसला दिएको छैन। अदालतले एमालेले गरेको कारबाहीमाथि संसद सचिवालय र निर्वाचन आयोगका निर्णयको सक्कल प्रति झिकाउन भनेको छ।अदालतले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाले गरेको निर्णयको सक्कल प्रति मगाएको अवस्थामा रिटमाथिको अन्तिम सुनुवाइ हुने टुंगो छैन।

त्यहीकारण अध्यक्ष नेपाल अध्यादेशबारे संसदबाट निर्णय गर्न हतार गर्न नहुने पक्षमा छन्।‘सर्वोच्चमा मुद्दाको किनारा नलागी अध्यादेशबारे निर्णय गर्न हतार नगरौं,’अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रतिस्थापन विधेयक ल्याउन अझै केही समय पर्खौँ।’ तर, जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुन तत्काल अध्यादेश खारेज वा फिर्ता लिनुपर्ने अडान राखेको छ।राजनैतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेश गरिएको छ तर स्वीकृत भएको छैन ।अध्यादेश यथावत रहँदासम्म जसपा सरकारमै सहभागी नहुने भएपछि प्रतिस्थापन विधेयक ल्याउन लागिएको थियो। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बुधबार उक्त कुरा बताएका थिए।एमाले र जसपा विभाजन गर्न सघाउ पुग्नेगरी सरकारले भदौ १ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशपछि माधवकुमार नेपाल नेतृत्वमा एमाले विभाजित भएर एकीकृत समाजवादी बनेको थियो। यस्तै महन्थ ठाकुरले जसपा विभाजन गराएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरिसकेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति