विदेशी पर्यटकको लागि ट्राभल एडभाइजरी जारी : यस्ता छन् सर्तहरु

काठमाडौं, ७ असोज । नेपालले विदेशी पर्यटकको लागि ट्राभल एडभाइजरी जारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ जारी गरेको हो। योसँगै सरकारले कोभिड खोप लगाएका विदेशीलाई अनअराइभल भिसा दिने भएको छ। विदेशी नागरिकले अध्यागमन प्रवेश विन्दुमा भिसाको लागि आवेदन गर्दा भिसाका लिन सक्ने सरकारले जनाएको छ।

विदेशी नेपाल आउनको लागि कोभिड खोप लगाएको १४ दिन पूरा गरेको हुनुपर्नेछ। हवाइ उडानको चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड १९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ।त्यस्तै पर्वतारोहण र पदयात्रा तथा अनुमति लिएको प्रतिलिपि, नेपालमा होटल बुक गरेको प्रमाण पेश गरे अनअराइभल भिसा पाउने भएका छन्। नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकको नेपालस्थित अध्यागमन प्रवेश विन्दुमा एन्टीजेन परीक्षण गर्नुपर्नेछ।

अध्यागमत प्रवेश विन्दुमा एन्टीजेन परीक्षण हुन नसकेमा त्यस्तो यात्रुले होटलमा परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्रै होटल बाहिर जान सक्नेछन्।

कोभिड खोप नलगाएका विदेशीले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्नेछ। नेगेटिभ रिपोर्ट आएपछि भ्रमणमा निस्किन सक्नेछ।
आदेशमा नेपाली तथा गैरआवासीय नेपाली नागरिक नेपाल फर्कदा खोप लगाएको १४ दिन पूरा भए सिधै आफ्नो गन्तव्यमा जान सक्नेछन्।
नेपालीले हवाइ उडान चेक इनअघि ७२ घण्टाको कोभिड परीक्षण नेगेटिभ रिपोर्ट ल्याउनुपर्नेछ।

कोभिड खोप मात्रा पूरा गरेको १४ दिन पूरा नभएका व्यक्तिको हकमा अध्यागमन विन्दुमा एन्टीजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि गन्तव्यमा जान अनुमति दिइनेछ। सरकारी आदेशअनुसार खोप नलगाएका भारतीय नागरिक नेगेटिभ रिपोर्ट आएमा नेपाल प्रवेश पाउनेछन्।
स्थलमार्गबाट नेपाल प्रवेशगर्दा ७२ घण्टाभित्रको कोभिड परीक्षण रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ। सीसीएमसीमा अनलाइन फारम भरी प्रिन्ट साथमा रहेको भारतीय नागरिकलाई सीमाको स्थलमार्गबाट नेपाल प्रवेश अनुमति दिइनेछ।कुनै व्यक्तिमा लक्षण देखिएमा एन्टीजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा नेपाल प्रवेश दिइनेछ। त्यसैगरी ५ वर्षमुनिका बालबालिकाको हकमा कुनै खोप र परीक्षण आवश्यक हुनेछैन। ५ वर्षमाथि १८ वर्षमुनिका बालबालिकाको हकमा खोप अनिवार्य हुनेछैन। अध्यागमन विन्दुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रवेश गर्ने अध्यागमन विन्दूमा एन्टीजेन परीक्षणको व्यवस्था गर्नुपर्नेछ। त्यसको लागि आवश्यक ठाउँको व्यवस्था तथा सहयोग संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा गृह मन्त्रालयले उपलब्ध गराउनुपर्नेछ।

नेपालबाट विदेश जाने यात्रुले ४८ घण्टाभित्रको वा गन्तव्य मुलुकको मापदण्डमा अनुसारको नेगेटिभ रिपोर्टको प्रमाण पेश गर्नुपर्नेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति