नेपालसँग सहकार्य गर्न उत्सुक छु : इमरान खान

काठमाडौं, ६ असोज । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवर्दन गर्न आफू तत्पर रहेको बताएका छन् ।पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग मङ्गलबार भएको भेटमा उनले पारस्परिक सम्बन्ध प्रवर्दनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएको इस्लामाबादस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजनीतिमा प्रवेश गर्नुअघि स्वतन्त्र नागरिकका रूपमा आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री खानले सांस्कृतिक एवं भौगोलिक विविधताका कारण पाकिस्तान र नेपालबीच धेरै समानता रहेको बताएका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सुख, सुस्वास्थ्यका साथै नेपाल र नेपाली जनताको निरन्तर प्रगतिको शुभकामना समेत व्यक्त गरे ।

सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र पाकिस्तानबीचको सम्बन्ध सौहाद्र्रपूर्ण रहेको चर्चा गर्दै राजदूत अधिकारीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का संस्थापक दुवै राष्ट्रको संयुक्त राष्ट्रसङ्घलगायत अन्य महत्वपूर्ण मञ्चहरूमा समान धारणा रहेको बताए ।

उनले नेपाल र पाकिस्तानबीच सांस्कृतिक एवं साहसिक पर्यटन प्रवद्र्धनका प्रशस्त सम्भावना रहेका बताउँदै त्यसनिम्ति आफूले हरसम्भव प्रयास गर्ने दृढता व्यक्त गरे । कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा पाकिस्तानले गरेको नैतिक एवं आर्थिक सहयोगप्रति राजदूत अधिकारीले कृतज्ञता ज्ञापन गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति