काठमाडौं, ६ असोज ।राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी मान्यताप्राप्त निकाय प्रेस काउन्सिलले सञ्चार क्षेत्रलाई अब्बलरूपमा उभ्याउन कोसिस गर्नुपर्ने बताएका छन्।
प्रेस काउन्सिल नेपालको ५२ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले त्यसका लागि काउन्सिललाई स्वतन्त्र, स्वायत्त र प्रभावकारी बनाउन सबै निकायबाट सहयोग हुनुपर्ने आवश्यकता औंल्याइन्।राष्ट्रपति भण्डारीले भने, जिम्मेवार पत्रकारिता, सुसूचित आमजनता र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन्। लोकतन्त्रको अभ्यासमा आमसञ्चारको क्षेत्रमा देखिएका कमीकमजोरी हट्दै जानेछन्। पत्रकार जगतबाट आचारसंहिता पालना हुनेछ।
लोकतन्त्र र आमसञ्चार क्षेत्र एकअर्काको परिपूरक भएकाले लोकतन्त्र र मानवअधिकार प्रवर्द्धनका लागि आमसञ्चार क्षेत्रले अभिन्न अङ्गका रूपमा काम गरिरहेको बताउँदै राष्ट्रपति भण्डारीले भनिन्,लोकतन्त्रको सफलताका लागि अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वमा विकसित भएका नयाँ प्रविधिको प्रयोगलाई आत्मसात् गरी परिमार्जित र व्यवसायी बन्दै अघि बढेकै कारण नेपालको सञ्चार क्षेत्र उदाहरणीय बन्न सफल भएको बताइन्।
उनले भनिन्, सञ्चार क्षेत्रको विकास, सदृढीकरण र सुव्यवस्थित गर्न सरकार जिम्मेवारी लिन तयार छ, समाजलाई सुसंस्कृत र अनुशासित बनाउन सञ्चार क्षेत्र जिम्मेवार भई काम गर्नुपर्छ। यस मामिलामा नेपाली सञ्चारक्षेत्र निष्ठावान रहिआएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले पत्रकारिता क्षेत्रको नियमन निकायका रूपमा रहेको प्रेस काउन्सिलले सजग, सतर्क र चनाखो भएर सत्यतथ्यसहितको सान्दर्भिक सूचना सम्प्रेषण गर्ने गराउने विषयमा क्रियाशील हुन आवश्यक रहेको बताए।
प्रतिक्रिया