काठमाडौं, ३ असोज । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको एकै परिवारका ६ जनाको बीभत्स हत्या प्रकरणको अनुसन्धानका लागि अनुसन्धानकर्ताको टिम पुनः घटनास्थल फर्किएको छ । हत्या आरोपमा मृतक तेजबहादुर कार्कीका भतिजा पर्ने लोकबहादुर कार्कीलाई पक्राउ गरी सफलता हात पारेको दाबी गर्दै त्यहाँबाट हिँडेको टोली पुनः घटनास्थल फर्किएको हो ।हत्या आरोपी पक्राउ परेपछि अनुसन्धानको नेतृत्व गरिरहेका सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालसहितको टिम ‘मिसन कम्प्टिल’ भएको भन्दै २६ गते घटनास्थलबाट बाहिरिएको थियो ।
प्रदेश १ का डिआइजी अरुणकुमार बिसीले मादी नगरपालिका–१ खोलागाउँमा भएको घटना अनुसन्धानका लागि सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली गठन गरेका थिए । अनुसन्धानका लागि डिआइजी बिसी पनि खटिएका थिए । पाँच दिनको प्रयासपछि हत्या आरोपी पक्राउ परेको भन्दै त्यहाँबाट बिदा भएको टिम पुनः घटनास्थल फर्किएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए ।
उनका अनुसार सङ्खुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी पनि घटनास्थल पुगेका छन् । पछिल्लो समय तथ्य र प्रमाणका आधारमा घटनाको धेरै कुरा खुल्न थालेपछि अनुसन्धानकर्ता प्रहरी घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका हुन् ।
घटनास्थल पुगेको टोलीले हत्या गरिएका तेजबहादुर कार्कीका चार जना छिमेकीहरूलाई शनिबार राति नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूलाई इलाका प्रहरी कार्यालय चैनपुर पु¥याएको बताइएको छ । चार जनालाई सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पुष्टि एसपी राईले गरेका छन् ।
मुख्य आरोपी मानिएका लोकबहादुरका भाइ नरेश कार्की यसअघि नै पक्राउ परिसकेका छन् । तर प्रहरीले भने विज्ञप्ति जारी गरेर पक्राउ नगरिएको दाबी गरेको छ । अदालतबाट पक्राउ पूर्जी जारी नगरी नियन्त्रणमा लिइएका कारण उनका बारेमा प्रहरीले बताउन नचाहेको हुनसक्ने आशङ्का गरिएको छ ।
हत्या गरिएकीमध्ये रञ्जना कार्कीको मोबाइल लुकाएर राखेको पाइएपछि लोकबहादुरका भाइ नरेशलाई प्रहरीले नियन्त्रणमा लिएर छानबिन एवम् सोधपुछ गरिरहेको हो । नरेशलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थालेपछि घटनाका बारेमा केही नयाँ तथ्य बाहिर आएकाले अरु चार जनामाथि पनि प्रहरीले अनुसन्धान केन्द्रित गरेको हो । घटनाको अनुसन्धानका लागि १० जनाको प्रहरी टोली भने घटनास्थलमै रहेको थियो ।
गत भदौ २१ गते बिहान ५३ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन कार्की र नातिनि ७ वर्षीया गोमा कार्की हत्या भएको थियो ।
प्रतिक्रिया