‘ओकस’को असर : अस्ट्रेलियासँग रिसायो फ्रान्स, फिर्ता बोलायो राजदूत

काठमाडौं, २ असोज ।  फ्रान्सले अमेरिका र अस्ट्रेलियामा रहेका आफ्ना राजदूतलाई अचानक स्वदेश फर्किन भनेको छ।बेलायत, अमेरिका र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताबारे विवाद भइरहेका बेला फ्रान्सले आफ्ना राजदूतलाई फिर्ता हुन भनेको हो।

गत बुधबार मात्र तीन देशबीच नयाँ सुरक्षा सम्झौता भएको छ, जसलाई ‘ओकस’ भनिन्छ। यसअन्तर्गत अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने प्रविधि दिइनेछ।

योसँगै यसअघि अस्ट्रेलियाले आफूसँग गरेको रक्षा सम्झौता रद्द भएपछि फ्रान्स रिसाएको हो। यसपछि फ्रान्सले अस्ट्रेलियाका रहेका राजदूत जाँ पियरे थेबो र अमेरिकामा रहेका राजदूत फिलिप एटियनलाई स्वदेश फर्किन भनेको हो।

फ्रान्सका विदेशमन्त्री जाँ यिभ लु द्रियाँले ‘असाधारण गम्भीर’ अवस्था देखिएकाले ‘असाधारण निर्णय’ लिइएको बताएका छन्। यसअघि सन् २०१६ मा अस्ट्रेलियाले जलसेनाका लागि १२ वटा पनडुब्बी निर्माणका लागि फ्रान्ससँग सम्झौता गरेको थियो। जुन सम्झौता झन्डै ५० अर्ब अस्ट्रेलियन डलर बराबरको थियो। फ्रान्सको विदेश मन्त्रालयले सम्झौता खारेज गर्ने अस्ट्रेलियाको निर्णय ‘दूर्भाग्यपूर्ण’ भएको बताएको छ।

एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्न ओकस सम्झौता गरिएको बताइएको छ। अमेरिका, अस्ट्रेलिया र बेलायतबीच भएको नयाँ सुरक्षा सम्झौताप्रति चीन पनि रुष्ट छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति