बैंकहरुले आजदेखि निक्षेप र कर्जा दुवैको ब्याजदर बढाए, निक्षेपकर्तालाई नाफा ऋणीलाई भार थपियो: कुन बैंकको कति पुग्यो ब्याजदर?

काठमाडौं, १ असोज । वाणिज्य बैंकहरुले आजदेखि लागू हुने गरी निक्षेप र कर्जा दुवैको ब्याजदर बढाएका छन् । ‘बजेट होलिडे’ चलिरहदा बजारमा पैसा कम भएको भन्दै बैंकहरूले सार्वजनिक सूचना नै जारी गर्दै निक्षेप तथा कर्जा दुवैको ब्याज बढाएका हुन् । ब्याजदर परिवर्तनसंगै निक्षेपकर्तालाई नाफा भएको छ भने बैंकबाट ऋण लिनेलाई ब्याजको भार थपिएको छ । भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूले औसत १ देखि २ प्रतिशतसम्म ब्याजदर बढाएका छन् । सबैभन्दा बढी सनराइज बैंकले एक वर्षभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दती निक्षेपमा १० दशमलव ०७ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकिङ प्रणालीमा नै लगानीयोग्य रकम जम्मा १८ अर्ब रुपैया“ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो रकम तरलताको चरम अभावजस्तै हो । यही अभावलाई हेरेर हिजो राष्ट्र बैंकले २० अर्ब रुपैया“ (रिपो) बजार पठाएको छ । त्यसले अभावलाई केही सहजता दिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंकमा पठाएको उक्त रकम भने १४ दिनको लागि मात्रै हो । असोज १४ गते बैंकहरूले त्यो रकम फिर्ता गर्नुपर्ने हुन्छ ।

कुन बैंकको कति पुग्यो ब्याजदर?
नबिल बैंक

नबिल बैंकले साधारण निक्षेपमा ४ दशमलव २६ देखि ६ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने भएको छ। मुद्दती निक्षेपमा पैसा राख्नेलाई बैंकले ६ दशमलव ५१ प्रतिशतदेखि ९ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने बताएको छ। 

नबिलको बैंकको आधार दर ५ दशमलव ५२ प्रतिशत छ। यसअनुसार आधारदरमा १ दशमलव ५ देखि ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याज लिने बताएको छ। योसँगै ऋणीले कर्जामा ११ दशमलव ५२ प्रतिशतसम्म ब्याज दिनुपर्ने हुनसक्छ।

सानिमा बैंक
सानिमा बैंकले साधारण निक्षेपमा ३ देखि ५ प्रतिशतसम्म ब्याज दिने सूचना जारी गरेको छ। बैंकले मुद्दती निक्षेपमा ७ देखि १० दशमलव ०१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ। 

बैंकको आधार दर ६ दशमलव १४ प्रतिशत छ। कर्जातर्फ बैंकले आधारदरमा ७ प्रतिशत ब्याज लिने जनाएको छ। जसअनुसार कर्जामा १३ दशमलव १४ प्रतिशतको ब्याजदर पर्नेछ। 

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले आज जारी गरेको सूचनाअनुसार साधारण बचतमा ३ दशमलव ०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ। 

बैंकले मुद्दती निक्षेपमा ८ दशमलव ०६ प्रतिशतसम्म ब्याज दिनेछ। बैंकको आधारदर ५ दशमलव ४१ प्रतिशत छ। बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याज लिनेछ। 

यसअनुसार कर्जामा अधिकतम ब्याजदर ८ दशमलव ४१ प्रतिशत छ।

कृषि विकास बैंक
कृषि विकास बैंकले साधारण बचतमा ३ दशमलव ५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ। बैंकले मुद्दती निक्षेपमा ८ दशमलव ६० प्रतिशतसम्म ब्याज दिने बताएको छ। 

बैंकको आधार दर ७ दशमलव १३ प्रतिशत छ। यसअनुसार २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याजदर दिने बताएको छ। योअनुसार बैंकको कर्जा १२ दशमलव १३ प्रतिशतसम्म गर्नेछ। 

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले साधारण निक्षेपमा ३ दशमलव ५५ प्रतिशत ब्याज दिने बताएको छ। मुद्दती निक्षेपमा भने एभरेष्ट बैंकले ४ दशमलव ५ प्रतिशतदेखि ८ दशमलव ५५ प्रतिशतसम्म दिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ। 

बैंकको आधार दर ७ दशमलव ३७ प्रतिशत छ। कर्जामा सोही आधार दरमा १ दशमलव ५ प्रतिशतदेखि ५ प्रतिशतसम्म जोडेर कर्जा दिने बताएको छ। यसअनुसार कर्जा लिनेलाई १२ दशमलव ३७ प्रतिशतसम्म ब्याज पर्नेछ। 

सनराइज बैंक
सनराइज बैंकले साधारण बचतमा ५ दशमलव ०७ प्रतिशत ब्याज दिने बताएको छ। मुद्दती निक्षेपमा भने बैंकले ५ दशमलव ०७ प्रतिशतदेखि १० दशमलव ०७ प्रतिशतसम्म दिने सूचना बैंकले जारी गरेको छ। 

बैंकको आधार दर ७ प्रतिशत छ। कर्जाको ब्याजदर भने आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने बताएको छ। यसअनुसार बैंकको कर्जाको ब्याज १३ प्रतिशतसम्म पर्नेछ। 

एभरेष्ट बैंक
एभरेष्ट बैंकले साधारण निक्षेपमा ३ दशमलव ६१ प्रतिशतदेखि ४ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ६ दशमलव ५० प्रतिशतदेखि ८ दशमलव ६१ प्रतिशतसम्म ब्याज दिने बताएको छ। 

बैंकको आधारदर ५ दशमलव ८५ प्रतिशत छ। बैंकले कर्जा ३ देखि ८ प्रतिशतसम्म आधार दर जोडेर कर्जा दिने बताएको छ। यसअनुसार बैंकको अधिकतम ब्याजदर १४ प्रतिशतसम्म पर्नेछ।

सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले पनि साधारण बचतमा ४ दशमलव २५ प्रतिशतदेखि ६ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने बताएको छ। मुद्दती निक्षेपमा भने बैंकले ८ प्रतिशतदेखि ९ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ। 

बैंकको आधारदर ७ दशमलव ५५ प्रतिशत छ। बैंकले कर्जामा आधारदरमा ४ दशशमलव ५० प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम ब्याज लिने जनाएको छ। यसअनुसार बैंकको कर्जामा ब्याज १३ दशमलव ५५ प्रतिशतसम्म पर्नेछ। 

नेपाल बंगलादेश बैंक    
नेपाल बंगलादेश बैंकले बचतमा ३ दशमलव ७६ देखि ४ दशमलव ७६ प्रतिशतसम्म ब्याज दिने भएको छ। मुद्दती निक्षेपमा बैंकले ८ दशमलव ७६ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ। 

एनएमबी बैंक
एनएमबी बैंकले साधारण बचतमा ४ दशमलव ५२ प्रतिशतदेखि ६.५२ प्रतिशतसम्म ब्याज दिने भएको छ। मुद्दती निक्षेपमा बैंकले ९ दशमलव ०२ प्रतिशतसम्म ब्याज दिने बताएको छ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचतमा २ देखि ४ दशमलव ५ प्रतिशत र मुद्दती निक्षेपमा ७ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने भएको छ। 

हिमालयन बैंक
हिमालयन बैंकले साधारण निक्षेपमा ४ दशमलव २५ प्रतिशतदेखि ६ दशमलव १५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । 

प्रभु बैंक
प्रभु बैंकले साधारण निक्षेपमा ३ दशमलव २५ देखि ५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ८ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने बताएको छ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख गरेको छ। बैंकले मुद्दती निक्षेपमा ८ दशमलव २५ प्रतिशतदेखि ८ दशमलव ७५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । 

एनसीसी बैंक
एनसीसी बैंकले साधारण निक्षेपमा ४ दशमलव २६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने बताएको छ। बैंकले मुद्दती निक्षेपमा ९ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ।

सिभिल बैंक
सिभिल बैंकले साधारण निक्षेपमा ४ दशमलव २५ प्रतिशतदेखि ६ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने बताएको छ। बैंकले मुद्दती निक्षेपमा ७ दशमलव ५५ देखि ९ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख गरेको छ। 

प्राइम बैंक
प्राइम बैंकले साधारण निक्षेपमा ४ दशमलव ७६ देखि ५ दशमलव ७६ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ। बैंकले मुद्दती निक्षेपमा ८ देखि ९ दशमलव ७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । 

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले साधारण निक्षेप ४ दशशमलव ५ प्रतिशत दिने उल्लेख छ। बैंकले मुद्दतीमा ८ दशमलव ८० प्रतिशतदेखि १० दशमलव ५० प्रतिशत ब्याज दिने भएको छ। कर्जामा भने बैंकको आधार दर ६ दशमलव ६० प्रतिशतमा प्रिमियम जोडेर ब्याज लिनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति